• इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा पत्रकारिता क्षेत्रको सशक्तीकरणमा स्थानीय तहको भूमिकाबारे अन्तर संवाद कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
    कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र पत्रकार महासंघ सुनसरी शाखाको समन्वयमा बिहीवार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको सभापतित्व रहेको थियो भने हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र देवानगन्ज गाउँपालिका उपाध्यक्ष विभाकुमारी यादवको सहभागितामा भएको अन्तर संवाद कार्यक्रममा वक्ताहरूले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै स्थानीय तहहरूले पत्रकार संरक्षण, सशक्तीकरण, तालिम तथा शसक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा बोल्दै अध्यक्ष भरत खड्काले “पत्रकारिता पेशालाई मर्यादित, सुरक्षित र उत्तरदायी बनाउन स्थानीय सरकारको भुमिका निर्णायक हुन्छ । स्थानीय तहसँग समन्वय गरी प्रदेशस्तरमा दीर्घकालीन रणनीति तयार गरिनु जरुरी बताए ।


    हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनप्रतिनिधि र सञ्चारकर्मी बीचको सम्बन्ध अझ मजबुत बनाउन संवाद, सहकार्य र पारदर्शिता अपरिहार्य रहेको बताए ।
    देवानगन्ज गाउँपालिकाकी उपाध्यक्ष विभाकुमारी यादवले महिलामैत्री पत्रकारिता र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारका लागि योजना ल्याउनुपर्ने धारणा राखिन ।
    संवादका क्रममा स्थानीय तहको बजेटमा पत्रकारिता सम्बन्धी कार्यक्रम समावेश गर्नु, सञ्चार माध्यमको दिगोपनका लागि नीति निर्माण गर्नु, पत्रकारका लागि सुरक्षा संरचना विकास गर्नु र सीप अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नु पर्ने लगायतका सुझावहरू नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले प्रस्तुत गरेका थिए ।
    कार्यक्रमले स्थानीय तह र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने र पत्रकारिता सशक्तीकरणमा नयाँ दिशा निर्देश तय गर्ने अपेक्षा गरिएको छ ।
    त्यसतै कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालले प्रदेश पत्रकार महासंघले जिल्ला शाखासँग समन्वय गर्न नसकेको बताएको थिए ।
    ढकालले आगामी दिनमा सुनसरी शाखासँग सहकार्य गरि पत्रकार हकहितमा कार्यक्रम अघि बढाउन प्रदेश पत्रकार महासंघलाई सुझाव दिए ।
    कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

4565