• नेकपा एमालेका सांसदद्धय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सांसदद्धय पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

    माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन । निर्वाचन आयोगले सनाखत नगरेपछि उनीहरु एकीकृत समाजवादी रोज्न पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए ।

    न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । पाण्डे प्रतिनिधिसभा सदस्य हुन भने भट्ट राष्ट्रियसभा सदस्य हुन् । यससँगै नेकपा एकीकृत समाजवादीको सांसद संख्या बढेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

4565