• इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको आसन्न १५औँ नगर अधिवेशनलाई लक्षित गर्दै रतन कार्की ‘कैलाश’ले उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

    पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत लामो समयदेखि सक्रिय कार्कीले संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। कार्यकर्तामाझ सहज पहुँच, सामाजिक गतिविधिमा सक्रियता र संगठन निर्माणमा गरेको योगदानलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा उनले प्रस्तुत गरेका छन्।

    कार्की नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका–१ का हाल उपसभापतिको जिम्मेवारीमा समेत रहेर पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले वडा तहमा संगठन विस्तार तथा कार्यकर्तालाई पार्टीको मूलधारमा जोड्ने काममा भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

    पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि कार्कीको सक्रियता रहँदै आएको छ। राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका रूपमा दुई पटक जिम्मेवारी सम्हालिसकेका उनी युथ क्लबको उपसभापति हुँदै सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएका छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक मत ल्याई इटहरी उपमहानगरपालिका–१ को वडा अध्यक्षको जिम्मेवारी समेत सम्हालेका कार्की स्थानीयस्तरमा परिचित सामाजिक व्यक्तित्वका रूपमा रहेका छन्।

    उम्मेदवारी घोषणा गर्दै कार्कीले नेपाली कांग्रेसलाई इटहरीमा थप बलियो, जनमुखी र कार्यकर्तामैत्री संगठनका रूपमा अघि बढाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीभित्र कार्यकर्ताको सम्मान, संगठन विस्तार, आपसी एकता र जिम्मेवारीअनुसारको नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताए।

    कार्कीको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस इटहरीको आगामी नगर अधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। नगर अधिवेशनमार्फत आउने नेतृत्वले पार्टी संगठनलाई आगामी दिनमा कसरी अघि बढाउँछ भन्ने विषयमा समेत कांग्रेस कार्यकर्तामाझ चर्चा सुरु भएको छ।

4565