• मोरङ । अहमदिया संघ नेपालका भ्रातृ संगठनहरू मजलिस अनसारूल्लाह, मजलिस खुद्दामुल अहमदिया र सदर लजना इमाउल्लाहको संयुक्त आयोजनामा वार्षिक खेलकुद तथा पूर्वाञ्चल क्षेत्रीय भेला मोरङको झोराहाटमा सम्पन्न भएको छ।

    अहमदिया समुदायका सदस्यबीच आपसी सद्भाव, भाइचारा, अनुशासन र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको भेलामा पूर्वाञ्चल क्षेत्रका विभिन्न स्थानबाट सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अहमदिया संघ नेपालका केन्द्रीय अध्यक्ष मोहमद इस्माइल मियाँको प्रमुख अतिथिमा भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मियाँले धार्मिक तथा सामाजिक गतिविधिसँगै स्वस्थ जीवनशैली र आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए । उनले समुदायका सदस्यहरूबीच एकता, अनुशासन र सेवाभावलाई अझ बलियो बनाउँदै सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा अहमदिया संघ जेष्ठ नागरिक संगठनका अध्यक्ष हैदर मियाँले अनुभव र ज्ञानलाई नयाँ पुस्तासँग जोड्दै समाज निर्माणमा जेष्ठ नागरिकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
    अहमदिया संघ युवा संगठनका अध्यक्ष नईम अहमदले सहभागीहरूलाई स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता, अनुशासन र आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए ।

    अहमदिया संघ नेपालले धार्मिक गतिविधिसँगै सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ। संघले विपद्का समयमा राहत तथा सहयोग, स्वास्थ्य शिविर, सरसफाइ अभियान, विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणल गायतका सामाजिक कार्य गर्दै आएको जनाएको छ। महिला संगठनकी अध्यक्ष रिजवान लुकमानले पनि सामाजिक सेवामा महिलाको सहभागिता र भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन ।

    भेलासँगै आयोजित खेलकुद प्रतियोगितामा हाजिरीजवाफ, दौड, म्युजिकल चेयरलगायतका विभिन्न विधा समावेश गरिएको थियो। प्रतियोगितामा एक सयभन्दा बढी सहभागीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

    आयोजकका अनुसार खेलकुद तथा क्षेत्रीय भेलाले सदस्यहरूबीच आपसी परिचय, सहकार्य र सद्भाव बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुगेको छ।

4565