• रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रम २०८३ अन्तर्गत महिला समूह सदस्यहरुको उद्यमशीलता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । रामधुनी नगरपालिका–२ कुम्याही स्थित शंकर आधारभूत विद्यालयको मैदानमा आयोजित उद्यमशीलता प्रदर्शनीमा विभिन्न तालिम मार्फत सीप सिकेर स्वरोजगार बन्दै आएका महिला समूहका सदस्यहरुले आफ्ना उत्पादनहरु प्रदर्शन तथा बिक्री गरेका छन् ।
    सेभ द अर्थ सुनसरी र इटिसि नेपालको आयोजनामा भएको कार्यक्रममा कृषिजन्य उत्पादन, घरेलु सामग्री, हस्तकलाका सामग्री, खाद्य परिकार लगायत स्थानीय उत्पादनहरु स्टल मार्फत प्रदर्शनीमा राखिएका थिए ।
    महिलाहरुले उत्पादन गरेका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा सहभागीहरुले उत्साहपूर्वक आफ्ना उत्पादन बिक्री समेत गरेका थिए ।

    रामधुनी नगरपालिकाको उद्यम विकास शाखा, स्वरोजगार शाखा, महिला तथा बालबालिका शाखा तथा सहकारी शाखाको सहयोग एवं पाथीभरा महिला लघुउद्यम सहकारी रामधुनी–२, नवीन महिला लघुउद्यम सहकारी रामधुनी–४, उन्नति महिला लघुउद्यम सहकारी रामधुनी–९ र संस्कार महिला लघुउद्यम सहकारी संस्था रामधुनी–८ को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रम सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता तथा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।

    उनले सीप विकाससँगै उत्पादन भएका सामग्रीको बजारीकरणमा समेत स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
    त्यःतैसेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले संस्थाले रामधुनी नगरपालिका–२, ४, ८ र ९ नम्बर वडाका एक हजारभन्दा बढी महिलालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले कृषि, पशुपालन, घरेलु उत्पादनलगायत क्षेत्रमा तालिम प्रदान गर्नुका साथै चार वटा सहकारी स्थापना, शैक्षिक सामग्री वितरण तथा समुदाय विकासका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
    सहभागी महिला उद्यमीहरुले आफ्ना उत्पादनको प्रचार–प्रसारसँगै बजार विस्तारका लागि प्रदर्शनी प्रभावकारी बनेको बताएका थिए ।

    प्रदर्शनीले स्थानीय उत्पादनको पहिचान बढाउनुका साथै महिलाहरुलाई उद्यमशील बन्न थप प्रेरणा दिएको थियो ।
    कार्यक्रम संस्थाकी शिक्षा सहायक राधा चौधरीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न जातीय भेषभूषा र संस्कृतिलाई झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।
    कार्यक्रममा रामधुनी नगरपालिका सहकारी शाखा प्मुख सुमन पौडेल, रामधुनी –२ का वडाध्यक्ष रामनारायण चौधरी, कार्यपालिका सदस्य सुशिला ढुंगाना, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्रसिंह खवास, वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी, सेभ द अर्थका पदाधिकारी, पालिका कर्मचारी, महिला समूहका सदस्य, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

4565