• उदयपुर । स्वच्छ वातावरणमा आन्तरिक पर्यटन प्रवद्र्धन तथा विद्यार्थीहरूबीच आपसी परिचय र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरको बेलका रिसोर्टमा आयोजित एक विशेष कार्यक्रमबीच सीबी कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा करिब १५० जना विद्यार्थीको सहभागिता रहेको थियो।
    सीबी कलेजका प्राचार्य खेमराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याएर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको थियो। कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको मनोबल उच्च बनाउन र थप मेहनतका लागि प्रेरित गर्ने उद्देश्यले सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल बास्तोलाले विगत १४ वर्षदेखि सीबी कलेजले विद्यार्थीहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको बताए। उनले कलेजले विद्यार्थीमा संस्कार, अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गरे।

    बास्तोलाले पढाइ मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकास नै हाम्रो प्राथमिकता रहेको बताउदै सीबी कलेजले शैक्षिक र अतिरिक्त दुवै क्षेत्रमा उत्कृष्ट वातावरण सिर्जना गर्दै आएको छ ।
    कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक सांगीतिक प्रस्तुति, नृत्य, गायन, कल्चरल फेसन शो लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप उत्साहपूर्ण र रोचक बनाएको थियो ।

    यस अवसरमा विद्यार्थी तथा अभिभावकहरूले कलेजको शैक्षिक वातावरण, अनुशासन र उत्कृष्ट नतिजाप्रति विश्वास व्यक्त गरेका थिए ।
    विगतका वर्षहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको सीबी कलेज विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको सहभागीहरूको भनाइ थियो ।

    कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कलेजले आगामी दिनमा पनि विद्यार्थीको क्षमता विकास र गुणस्तरीय शिक्षाका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएको छ ।

4565