• सुनसरी । सौन्दर्यकला व्यवसायी संघ ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अन्तर्गत इटहरी १६ पकलीस्थित राम जानकी वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाद्य सामग्री सहयोग गरेको छ ।
    संघको जिल्ला तथा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा आश्रममा बसोबास गर्दै आएका आमाहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । कार्यक्रममा हर्लिक्स, बिस्कुट, फलफूल तथा अन्य आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
    सहयोग वितरण कार्यक्रममा लिला राई, मुना शर्मा, दिपा कार्की, सृजना राई लगायत संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष विजु बैनी श्रेष्ठ ले वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आश्रममा सहयोग गरिएको बताइन् । उनले आश्रममा रहेका आमाबुबालाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले खाद्य सामग्री सहयोग गरिएको उल्लेख गरिन् ।
    उनले समाजमा रहेका असहाय, ज्येष्ठ नागरिक तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूप्रति सबैको दायित्व रहने भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।

    कार्यक्रमका सहभागीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्था र दैनिक आवश्यकताबारे समेत जानकारी लिएका थिए । आश्रम व्यवस्थापन पक्षले विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले आश्रम सञ्चालनमा सहजता मिल्दै आएको जनाएको छ ।
    सामाजिक सेवासँगै व्यवसायिक एकतालाई पनि सशक्त बनाउँदै आएको सौन्दर्यकला व्यवसायी संघ ले वार्षिकोत्सवको अवसरमा गरेको सहयोगात्मक कार्यको स्थानीयस्तरमा प्रशंसा गरिएको छ ।

4565