• इटहरी । भ्वाईस अफ चिल्ड्रेनको आयोजनामा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम तथा मनोसामाजिक सहयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

    इटहरी उपमहानगरपालिकाका २० वटै वडाभित्र रहेका विद्यालयका नर्सहरूको सहभागितामा आयोजित कार्यक्रममा बालबालिकामाथि हुने अनलाइन यौन दुर्व्यवहार, त्यसको रोकथाम, मनोसामाजिक अवधारणा, मुद्दा व्यवस्थापन तथा केस प्रेसण प्रणालीका विषयमा विस्तृत छलफल गरिएको थियो ।

    इटहरीस्थित होटल इन्टुरिष्ट प्यालेसमा आयोजित कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत पूजा भण्डारीले मनोसामाजिक अवस्थाबारे सहजीकरण गर्दै व्यक्तिको सोचाइ, भावना, व्यवहार, विश्वास र सामाजिक परिवेशबीच गहिरो सम्बन्धका विषयमा सहजिकरण गराएकी थिन ।

    उनले मानसिक प्रक्रिया आन्तरिक भए पनि परिवार, समुदाय, संस्कार, संस्कृति र सामाजिक व्यवहारजस्ता बाह्य पक्षले व्यक्तिको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्ने बताइन ।

    त्यसैगरी परियोजना सहायक प्रकाश परियारले बालयौन दुर्व्यवहारको परिभाषा, त्यसका स्वरूप र बालबालिकामाथि हुने अनलाइन जोखिमका विषयमा जानकारी दिएका थिए । उनले शक्ति, नाता र विश्वासको दुरुपयोग गर्दै वयस्क वा शक्तिशाली व्यक्तिले बालबालिकालाई यौन गतिविधिमा प्रयोग गर्नु गम्भीर अपराध भएको उल्लेख गरे ।

    कार्यक्रममा सहभागी नर्सहरूले विद्यालयस्तरमै बालबालिकाको मानसिक अवस्था पहिचान, अनलाइन जोखिमबाट बचाउने उपाय तथा पीडित बालबालिकालाई आवश्यक परामर्श र सहयोग प्रणालीबारे अनुभव आदानप्रदान गरेका थिए । उनीहरूले विद्यालयमा सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

    बालबालिकालाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउन अभिभावक, विद्यालय र समुदायबीच समन्वय आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

4565