• तेह्रथुम । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशले जिल्ला समन्वय समितिको आवश्यकता, स्थायित्व र आगामी कार्यदिशाबारे छलफल गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    कोशी प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रम बसन्तपुरस्थित आरआर गार्डेनमा सम्पन्न भएको हो। कार्यक्रममा बसन्तपुर–तिनजुरे–गुफापोखरी–मिल्के हुँदै ताप्लेजुङसम्म जोडिने सडकको स्तरोन्नतिमार्फत पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।
    कार्यक्रम जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशका अध्यक्ष छिरिङ्ग लामाको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
    कार्यक्रममा बोल्दै मन्त्री लिङथेपले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आवश्यक पूर्वाधार निर्माण र सडक स्तरोन्नतिका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बनाउन सरकार गम्भीर रहेको धारणा राखे ।
    सोही अवसरमा महासंघका अध्यक्ष लामाले बसन्तपुर–ताप्लेजुङ सडक विस्तार तथा स्तरोन्नतिका लागि औपचारिक ज्ञापनपत्र मन्त्रीसमक्ष हस्तान्तरण गरेका थिए ।

    कार्यक्रमलाई मनोरञ्जनात्मक र सहभागिता मूलक बनाउन जनप्रतिनिधिबीच डोरी तान प्रतियोगिता, सवारी चालकबीच दौड प्रतियोगिता तथा कर्मचारीबीच भाग्यशाली चिट्ठा कार्यक्रम सञ्चालन गरिएको थियो। विजेताहरूलाई आकर्षक पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
    त्यस्तै लोक दोहोरी गायिका गंगा गौतम आचार्यले प्रस्तुत गरेको साङ्गीतिक कार्यक्रममा सहभागीहरू उत्साहित बनेका थिए ।
    कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन प्रवद्र्धन, प्राकृतिक सम्पदाको संरक्षण तथा स्थानीय आर्थिक विकासमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताएका थिए।

4565