• इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा इटहरीस्थित माया घर नेपालमा आश्रय लिइरहेका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रमले आश्रितहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
    इटहरी लेडी जेसीजकी अध्यक्ष यामुना बुढाथोकीको अध्यक्षता तथा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा कोशी अस्पताल, विराटनगरको प्राविधिक सहयोग रहेको थियो ।
    शिविरमा १५० जना भन्दा बढी आश्रित तथा स्थानीय लाभग्राहीहरूको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।
    स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँच, रक्तचाप परीक्षण, मधुमेह परीक्षण लगायत विभिन्न सेवा प्रदान गरि केही औषधी समेत वितरण गरिएका थियो ।
    कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आश्रयस्थलमा बसोबास गर्ने व्यक्तिहरूको स्वास्थ्य अवस्था सुधारका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रमका अवसरमा बोल्दै अध्यक्ष बुढाथोकीले समाजका विपन्न तथा असहाय वर्गलाई सहयोग गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताइन् ।
    उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख अतिथि प्याकुरेलले पनि इटहरी लेडी जेसीजले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले आश्रितहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदा आश्रितहरूलाई राहत मिलेको बताइन । सहभागीहरूले बताएका छन् ।
    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क उद्घोषण तालिम सुरु गरिएको छ । वडा कार्यालयको आयोजनामा तथा आर्थिक सहयोगमा, न्यु स्टार टेक्निकल इन्स्टिच्युटको समन्वयमा चार दिने तालिम सञ्चालनमा आएको हो ।
    उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले युवाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा वृद्धि गर्न यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताए । उनले युवाहरूलाई मञ्चमा निर्धक्क रूपमा प्रस्तुत हुन सक्ने बनाउन र आफ्ना विचार प्रभावकारी ढङ्गले अभिव्यक्त गर्न सक्ने बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
    तालिमको मुख्य उद्देश्य युवाहरूमा रहेको मञ्च डर हटाई, सही शब्द चयन, आवाजको उतारचढाव र प्रस्तुतिकरण शैलीमार्फत आकर्षक उद्घोषण कला विकास गराउनु रहेको छ । यसले सहभागीहरूको आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता र सञ्चार सीपमा समेत सुधार ल्याउने विश्वास लिइएको छ ।

4565