• इटहरी । हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त शुभ दिनका रूपमा मानिने अक्षय तृतीया को अवसरमा नेवाः मिसा पुच इटहरीले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेको छ ।
    परम्परागत संस्कृतिलाई जोगाउने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जौको सात र सर्वत वितरण गरिएको हो ।
    इटहरीस्थित राधा कृष्ण शिव मन्दिर अगाडि सञ्चालन गरिएको वितरण कार्यक्रममा मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पैदल यात्रुहरूलाई वितरण गरिएको थियो ।
    गर्मी बढ्दै गएको समयमा सातुको सर्वतले यात्रुहरूलाई राहत दिएको सहभागीहरूले बताएका छन्।

    यसै अवसरमा मन्दिर परिसरमा रहेका जेष्ठ नागरिकहरूलाई फूलफुल प्रदान गरी सम्मान समेत गरिएको थियो ।
    नेवाः मिसा पुच इटहरीकी अध्यक्ष कौशल्या श्रेष्ठले अक्षय तृतीया जस्तो पुण्य दिनमा सेवा गर्न पाउँदा खुशी लागेको बताउँदै यस्ता कार्यक्रमले समुदायबीच आपसी सहयोग र सहकार्य बढाउने विश्वास व्यक्त गरिन ।
    उनले स्थानीयस्तरमा यस्ता रचनात्मक तथा सेवामूलक गतिविधिले समाजमा सकारात्मक ऊर्जा फैलाउने र परम्परागत संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताइन ।
    मिसा पुचले विभिन्न समयमा सामाजिक गतिविधिहरु गर्दै आएको जनाएको छ ।

4565