• झापा । शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा आयोजना हुने “श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण समारोह” को तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवप्रति देश तथा विदेशका भक्तजनहरूमा उत्साह उच्च देखिएको आयोजकले जनाएको छ।

    वि.सं. २०२५ सालमा स्थापना भएको उक्त आश्रमले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।
    नेपालसहित भारत, भूटान, म्यानमार, अमेरिका, क्यानडा र अष्ट्रेलियामा समेत आफ्नो गतिविधि विस्तार गरिसकेको संस्थाले वेद विद्यालय, गोशाला, छात्रावास र पुस्तकालयमार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएको जनाएको छ।

    यस महोत्सवमा दक्षिण भारतका प्रतिष्ठित आचार्यहरूको विशेष उपस्थिति रहनेछ। तामिलनाडुको काञ्चीपुरमबाट जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य गादी स्वामीजी महाराज प्रमुख आचार्यका रूपमा सहभागी हुनेछन्।

    त्यस्तै, श्रीराम कथाको प्रवचनका लागि अयोध्याबाट जगद्गुरु श्रीराघवाचार्य स्वामीजी महाराज प्रमुख कथा वाचकका रूपमा आउने कार्यक्रम छ।

    नेपाल, भारत, भूटान, अष्ट्रेलिया, अमेरिका र क्यानडाबाट धर्मगुरु, विद्वान तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ, जसले समारोहलाई अन्तर्राष्ट्रिय स्वरूप दिने विश्वास लिइएको छ।

    महोत्सव अवधिभर दैनिक धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, आँखा जाँच तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, सात मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा, जलाधिवास, धान्याधिवास, महाअभिषेक तथा ध्वजारोहण जस्ता महत्वपूर्ण वैदिक विधिहरू सम्पन्न गरिनेछन्।

    वैशाख ११ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन हुने कार्यक्रमपछि आश्रमबाट शोभायात्रा निकालिनेछ। उक्त यात्रा सुरुंगा, दुर्गापुर, लक्ष्मीपुर हुँदै अर्जुनधारा धाम पुगेर विर्तामोड नगर परिक्रमा गर्दै पुनः आश्रममै समापन गरिनेछ।

    करिब २ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यस महोत्सवमा दान तथा सहयोग प्रमुख स्रोत रहनेछ। दैनिक भोजन व्यवस्थापनमै झण्डै ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रत्येक दिन १० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    आयोजक समितिले देश–विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, दाताहरू तथा स्थानीयवासीलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।

4565