• इटहरी । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति मुक्तिधाम, इटहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ वर्षको उमेरसँगै रक्तदानको सुरुवात गरौं” भन्ने सन्देश सहित आयोजित कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ ।
    मुक्तिधाम परिसरमा सम्पन्न उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
    नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय युवाहरूले रक्तदान गरेका थिए ।
    कार्यक्रम प्रारम्भिक समिति मुक्तिधामका अध्यक्ष देवेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्तश्री १०८ कृष्णदासजी महाराजको प्रमुख आतिथ्यता रहेको थियो ।

    संन्दिप दाहालको संयोजनमा भएको कार्यक्रममा मुक्तिधाम बिहत्तर विकास समितिका अध्यक्ष हेम प्रसाद घिमिरे, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय सदस्य टंक प्रसाद ओझा, प्रदेश सदस्य यमुना चापागाईँ तथा सुनसरी जिल्ला अध्यक्ष पुण्य प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
    उपस्थित वक्ताहरूले रक्तदान जस्तो मानवीय कार्यले असंख्य बिरामीको ज्यान बचाउन सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । साथै, युवाहरूलाई रक्तदानप्रति जागरूक बनाउन यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गरिएको थियो ।

4565