-
ओखलढुंगा । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल अब संघीय संसदमा प्रवेश गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा चुनाव लडेका पोखरेल ओखलढुंगा प्रतिनिधिसभा क्षेत्रबाट अत्यन्तै झिनो मतान्तरले विजयी भएका हुन्।
निर्वाचन परिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कुमार लुइँटेल ले १३ हजार ९४८ मत पाएका छन्। जम्मा ५ मतको अन्तरले प्राप्त गरेको यो जितलाई धेरैले निकै रोचक र चर्चित परिणामका रूपमा हेरेका छन्।
पोखरेलले २०४९ साल चैतमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। करिब २९ वर्ष ४ महिना लामो सेवा अवधिमा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै उच्च नेतृत्व तहसम्म पुगेका थिए। तर प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने मुखैमा पुगेका बेला सरकारको निर्णयबाट उनी पछि परेपछि त्यसले ठूलो बहस जन्माएको थियो। त्यसपछि असन्तुष्टि जनाउँदै उनले प्रहरी सेवाबाट राजीनामा दिएका थिए।
प्रहरी सेवाबाट बाहिरिएपछि सार्वजनिक जीवनमा सक्रिय भएका पोखरेलले यसपटक रास्वपाको तर्फबाट चुनाव लड्दै प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका हुन्। मतदाताले दिएको समर्थनसँगै उनी अब संसदमा पुग्ने निश्चित भएको छ।
यसपटक रास्वपाबाट चार जना पूर्वप्रहरी अधिकृतहरू चुनाव जितेर संसदमा पुगेका छन्। तीमध्ये पोखरेल सबैभन्दा उच्च पदमा पुगेका पूर्वप्रहरी अधिकारी भएकाले पार्टीभित्र उनको भूमिका महत्वपूर्ण हुने आँकलन गरिएको छ। त्यसैकारण भावी सरकार गठनको अवस्थामा उनी गृहमन्त्री बन्न सक्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
News Desk 0 response सोमवार, फाल्गुन २५, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





