• इटहरी । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जेसिआइ इटहरीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत महिला ट्राफिक प्रहरीहरूलाई सम्मान तथा आवश्यक सामग्री प्रदान गरेको छ।

    आइतबार आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका १६ जना महिला ट्राफिक प्रहरीलाई सम्मान गर्दै उनीहरूलाई आवश्यक सामग्री वितरण गरिएको हो। कार्यक्रममार्फत सडकमा खटिएर सेवा दिइरहेका महिला ट्राफिक प्रहरीहरूको समर्पण, मेहनत र योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी दीपक गिरीले महिला ट्राफिक प्रहरीहरूले प्रतिकूल मौसम, भीडभाड र विभिन्न चुनौतीपूर्ण परिस्थितिमा समेत निरन्तर सडकमा खटिएर सेवा दिइरहेको उल्लेख गर्दै उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता कार्यक्रमले महिला प्रहरीहरूको मनोबल अझ उच्च बनाउने विश्वास व्यक्त गरे।

    जेसिआइ इटहरीका अध्यक्ष मिसन पराजुलीले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महिला ट्राफिक प्रहरीहरूको योगदानको सम्मानस्वरूप कार्यक्रम आयोजना गरिएको बताए। उनले सडक अनुशासन कायम गर्न महिला ट्राफिक प्रहरीहरूले दिनरात खटेर काम गरिरहेको उल्लेख गर्दै उनीहरूको समर्पण समाजका लागि प्रेरणादायी रहेको धारणा राखे।

    साथै समाजमा महिलाको भूमिका दिनानुदिन सशक्त बन्दै गएको उल्लेख गर्दै त्यसलाई थप प्रोत्साहन गर्न सम्मान गरिएको उनले बताए।

    स्मृति न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जेसिआइका निवर्तमान अध्यक्ष देवेन्द्र कार्की लगायत जेसिआइका पदाधिकारी तथा ट्राफिक प्रहरीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा सम्मानित महिला ट्राफिक प्रहरीहरूले यस्तो सम्मानले आफ्नो कामप्रति थप हौसला र प्रेरणा मिल्ने बताउँदै आयोजक संस्था जेसिआइ इटहरीप्रति आभार व्यक्त गरेका थिए।

4565