• कोकिला भण्डारी

    धनकुटा । प्रतिनिधिसभा सदस्यका लागि धनकुटामा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई विजयी भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका राईले १८ हजार १ सय ३२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    राईले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार दिनेश राईलाई ३ हजार ८ सय ७५ मतान्तरले पराजित गरेका हुन् । कांग्रेस धनकुटा जिल्ला सभापतिसमेत रहेका दिनेश राईले १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन् ।

    निर्वाचनमा अन्य दलका उम्मेद्वारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ मत ल्याएका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् ।

    धनकुटामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने आकलन गरिए पनि अन्य दलका उम्मेद्वारहरूले पनि उल्लेख्य मत ल्याएका कारण निर्वाचन प्रतिस्पर्धात्मक बनेको थियो । मतगणना सुरु भएदेखि नै एमाले उम्मेद्वार राई अग्रस्थानमा रहँदै अन्ततः विजयी भएका हुन् ।

    निर्वाचित भएपछि राईले धनकुटाको विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै समग्र जिल्लाको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

4565