• सुनसरी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीले सुनसरी क्षेत्र नम्बर १ मा चुनावी प्रचारलाई तीव्र बनाएको छ। “श्रमको सम्मान, माटोमा मतदान” भन्ने मूल नारासहित पार्टीले मतदातामाझ आफ्ना एजेन्डा सार्वजनिक गर्दै घरदैलो तथा प्रचार–प्रसार कार्यक्रमलाई व्यापक बनाएको हो।
    पार्टीले समानुपातिक तर्फ सुनसरी जिल्लाबाट कोपिला घिमिरे लाई उम्मेदवार बनाएको छ। घिमिरेले श्रमिकको हक–अधिकार संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले श्रममै आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रम ल्याइने बताइन्।

    यस्तै, प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा हर्कराज राई ९हर्क साम्पाङ० चुनावी मैदानमा उत्रिएका छन्। सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राईले सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले स्थानीय स्रोत–साधनको सदुपयोग, भ्रष्टाचार नियन्त्रण र जनताको प्रत्यक्ष सहभागितामूलक विकास मोडल अघि सार्ने बताएका छन्।
    पार्टीको चुनाव चिन्ह ‘माटो’ रहेको छ। माटो चिन्हले श्रम, उत्पादन र स्वदेशी मूल्यको सम्मानलाई संकेत गर्ने पार्टीको दाबी छ। प्रचार सामग्रीमा राष्ट्रिय झण्डा, श्रमिकको प्रतीक र विकासका सन्देश समेटिएका छन्। पार्टी नेतृत्वका अनुसार आम मतदाताले श्रमको सम्मान गर्ने राजनीतिक शक्तिलाई साथ दिने विश्वास व्यक्त गरेका छन्।
    श्रम संस्कृति पार्टीले वैकल्पिक राजनीतिका माध्यमबाट जनताको भरोसा जित्ने लक्ष्यसहित चुनावी अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

4565