• दुहबी । ४४ वर्षदेखि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको महेन्द्र मेमोरियल एकेडेमी दुहबी ले आफ्नो ४४औँ वार्षिक समारोह तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। तीन दिने वार्षिक समारोहको दोस्रो दिन कक्षा २ देखि कक्षा ६ सम्मका विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रिना शाक्यको अध्यक्षता तथा विद्यार्थीका अभिभावक टंकबहादुर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक उत्कृष्टताको ४४ वर्षे यात्रालाई स्मरण गर्दै भावनात्मक तथा प्रेरणादायी प्रस्तुतिहरू राखिएका थिए। सुनसरी जिल्लामै धेरै विद्यार्थीलाई अध्यापन गराउँदै आएको एकेडेमीले वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, कक्षा–स्तरगत सिर्जनात्मक नाटक, नृत्य, गायन तथा फेसन शो जस्ता आकर्षक प्रस्तुति देखाएको थियो।

    कार्यक्रममा शैक्षिक उपलब्धि, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र सहयोगी अभिभावकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसले विद्यार्थीमा प्रतिस्पर्धी भावना, आत्मविश्वास र सिर्जनशीलता बढाएको सहभागीहरूको भनाइ थियो।

    कार्यक्रममा बोल्दै एकेडेमीका भाइस प्रिन्सिपल रमेश बाबु थापाले समयको मागअनुसार विद्यालयलाई डिजिटलमैत्री बनाउँदै अन्तर्राष्ट्रिय सहकार्यमार्फत विश्वस्तरीय शैक्षिक संस्थामा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। त्यस्तै, एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी ट्रेनिङ एजेन्सीका कार्यकारी निर्देशक शैलेन्द्र खरेलले विद्यार्थीहरूलाई विश्वव्यापी अवसरसँग जोड्न मार्गदर्शन आवश्यक रहेको धारणा व्यक्त गरे।

    विद्यालयका प्रिन्सिपल निश्चलराज शाक्यले प्रविधिमा आधारित शिक्षण–सिकाइ, आधुनिक शैक्षिक उपकरण तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य विद्यालयले लिएको स्पष्ट पारे।

    फाल्गुण १० देखि १२ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको तेस्रो दिन कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी तथा अभिभावकको उपस्थितिमा विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ। नर्सरीदेखि कक्षा १२ सम्म प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलाप तथा गायन शिक्षासमेत सञ्चालन गर्दै आएको यस एकेडेमीले आगामी दिनमा शैक्षिक क्षेत्रमा थप नवीनता ल्याउने विश्वास व्यक्त गरिएको छ।

4565