• इटहरी । विगत १४ वर्षदेखि न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सुनसरीको इटहरी स्थित समता स्कुलले आफ्नो १४औँ अभिभावक दिवसका तथा छैटौँ अन्तर–समता गायन, नृत्य तथा उद्घोषण प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ ।
    विद्यालय परिसरमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको थियो । विद्यालयले वर्षभरि शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान सहित पुरस्कृत गरेको हो ।

    सोही कार्यक्रममा विद्यार्थीहरूले आफैंले निर्माण गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । विज्ञान, गणित, भाषा तथा सिर्जनात्मक विषयसँग सम्बन्धित सामग्रीहरू अवलोकन गर्दै अभिभावकहरूले विद्यार्थीहरूको प्रतिभा, सिप र सिर्जनशीलताको प्रशंसा गरेका थिए ।
    त्यसैगरी, उचित शिक्षा र संस्कार प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूलाई उत्कृष्ट अभिभावक सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गर्न इलाम, झापा, मोरङ र सिरहामा सञ्चालित समता स्कुलका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    छैटौँ गायन, नृत्य तथा उद्घोषण प्रतियोगिता अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम र सिरहाबाट आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै, स्कुलमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका शिक्षक–शिक्षिकाहरू टिका माया तामाङ, अर्चना खत्री र विकास मगरलाई सम्मानपत्र प्रदान गरिएको छ ।
    साथै, सहभागी अभिभावकहरूका लागि लक्की ड्रमार्फत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो ।

    हाल समता स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा समता स्कुल विराटनगर, दमक, लाहान, इलाम र पोखराका प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

4565