• इटहरी । बालबालिकामा संस्कार, सीप र सिर्जनशीलताको विकास गर्ने उद्देश्यका साथ इटहरी बालकला साहित्य महोत्सव २०८२ पाथीभरा माध्यमिक विद्यालयको प्राङ्गणमा सफलता पूर्वक सम्पन्न भएको छ । पाथीभरा माध्यमिक विद्यालयको आयोजनामा तथा बुकल्याण्डको सह–आयोजनामा सम्पन्न महोत्सव इटहरी उपमहानगरपालिकाको अभिभावकत्व र विभिन्न संघ–संस्थाको सहयोगमा सञ्चालन गरिएको हो ।
    बाल साहित्य, कला र संस्कृतिलाई एउटै थलोमा समेट्ने लक्ष्यसहित आयोजित महोत्सवमा ३ वटा प्यानल डिस्कसन र २४ वटा विविध विषयका कार्यशाला सञ्चालन गरिएका थिए। कार्यक्रमले विद्यार्थीहरूलाई पुस्तक, कला र सृजनासँग प्रत्यक्ष जोड्दै पठन संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ छ ।

    महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
    उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो। विद्यार्थीहरूले साहित्यिक पुस्तक प्रदर्शनी, भित्तेकला प्रदर्शनी तथा विविध सिर्जनात्मक स्टलहरू राख्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले विद्यार्थीहरूलाई किताबसँग नजिक बनाउँदै पठन संस्कृतिको विकास गर्नु नै महोत्सवको मुख्य लक्ष्य रहेको बताए। उनले बालबालिकाको सोच्ने क्षमता, अभिव्यक्ति कला र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता साहित्यिक तथा सिर्जनशील कार्यक्रम अत्यावश्यक रहेको उल्लेख गरे ।

    महोत्सवमा काव्य डबली, प्याब्सन कोशी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाललगायत संस्थाहरूको सहकार्य रहेको थियो। साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हरदम चाली, प्याब्सन नेपालका केन्द्रीय पूर्व अध्यक्ष टिकाराम पुरी, विद्यालयका प्रधानाध्यापक डा. गोपाल श्रेष्ठ, इटहरी पमहानगरपालिकाका शिक्षा शाखा अधिकृत द्रोण दाहाल, शिक्षाविद् लेखनाथ घिमिरेलगायत शिक्षाविद्, अभिभावक र शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    स्थानीय स्तरमै शैक्षिक तथा सांस्कृतिक प्रभाव पार्ने विश्वाससहित सम्पन्न यस महोत्सवले बालबालिकालाई सिर्जनशील सोच र साहित्यिक यात्रातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

4565