• सुन्दरहरैचा । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा ‘सिनेमामा कोशी प्रदेश २०८२’ कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया, परिचयपत्र वितरण, सम्मान तथा चलचित्रकर्मी बृहत भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर रियल स्टेट हाउजिङको नवनिर्मित भवन परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशभरिका चलचित्रकर्मी, कलाकार, निर्देशक, सर्जक तथा सिने क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
    महासंघका सभापति अरुण कुमार प्रधानको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिनेमामार्फत कोशी प्रदेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विषयमा गहन छलफल गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले चलचित्र क्षेत्र पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै प्रदेश सरकारले सिनेमा र पर्यटनलाई जोडेर नीतिगत सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले कोशी प्रदेशलाई फिल्म सुटिङको गन्तव्यका रूपमा विकास गर्न आवश्यक संरचना र सहजीकरणमा सरकार सकारात्मक रहेको बताए ।
    सोही अवसरमा चर्चित चलचित्र ‘परान’ का लेखक तथा निर्देशक दीपक आचार्य, फ्युचर रियल स्टेट हाउजिङ प्रा.लि.का प्रबन्ध निर्देशक याम लामा, वरिष्ठ चलचित्रकर्मी तथा ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष शिव श्रेष्ठ, नोबल एकेडेमीका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत १२ जनालाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

    ११ बिघा क्षेत्रफलमा सञ्चालनमा रहेको फ्युचर रियल स्टेट हाउजिङले नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने र भवन निर्माणसमेत गरिदिने घोषणा गरेको छ। प्रबन्ध निर्देशक याम लामाले कोशी प्रदेशका चलचित्रकर्मीलाई एकै स्थानमा संगठित गर्दै सृजनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिए।
    महासंघका सभापति अरुण कुमार प्रधानले चलचित्रकर्मीहरूको पेशागत हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा प्रदेशस्तरीय चलचित्र गतिविधि सशक्त बनाउने दिशामा महासंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता बताए ।
    कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, निर्देशक रमेश बुढाथोकी, लोकदोहोरी गायिका गंगा गौतम आचार्य, तामाङ चलचित्रकर्मी संघका अध्यक्ष लाकमान योञ्जनलगायत विभिन्न विधाका चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

4565