• इटहरी । भदौ २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा बिग्रिएको इटहरी चोकको ट्राफिक लाइट चार महिनापछि पुनः सञ्चालनमा आएको छ । कोशी प्रदेशकै व्यस्त तथा संवेदनशील मानिने इटहरी चोकमा ट्राफिक लाइट नहुँदा सवारी आवागमन अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको थियो ।
    ड्राइभिङ स्कुल संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष शिव श्रेष्ठले संघ सेवा–मूलक संस्था भएकाले सवारी चालक र सर्वसाधारणको सुरक्षाका लागि ट्राफिक लाइट अत्यावश्यक रहेको बताए ।
    उनले संघको आर्थिक सहयोगमा ट्राफिक लाइट पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
    यस्तै, इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवश पोख्रेलले आन्दोलनपछि ट्राफिक लाइट मर्मतका लागि विभिन्न तवरबाट दबाब आए पनि वडा र नगर दुवैतर्फ बजेट अभावका कारण काम अघि बढ्न नसकेको बताए। ड्राइभिङ स्कुल संघ नेपाल, कोशी प्रदेशसँग सहकार्य गरेपछि संघले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपछि काठमाडौंबाट प्राविधिक बोलाई मर्मत कार्य सम्पन्न गरिएको उनको भनाइ छ । लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको अध्यक्ष पोख्रेलले बताए ।

    ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद घिमिरेले इटहरी चोक कोशी प्रदेशकै महत्वपूर्ण चोक भएकाले ट्राफिक लाइट नहुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको बताए । सम्बन्धित निकायसँग तत्काल बजेट नहुँदा ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको तर्फबाट सहयोग गरेर समस्या समाधान गरिएको उनले जानकारी दिए ।
    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले आन्दोलनका क्रममा ट्राफिक लाइट र सिसिटिभी क्यामरा बिग्रँदा जनशक्ति अभावका बीच ट्राफिक व्यवस्थापन गर्न निकै कठिन भएको बताए ।
    मर्मतका लागि बजेट नहुँदा समस्या झन् जटिल बनेको तर अहिले लाइट सञ्चालनमा आएपछि व्यवस्थापन सहज भएको उनको भनाइ छ । उनले आगामी दिनमा जेब्रा क्रस र सिसिटिभी क्यामरा पनि मर्मत गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको जानकारी दिए ।

    ट्राफिक लाइट सञ्चालनमा आएपछि ड्राइभिङ स्कुल संघका संस्थापक अध्यक्ष बाबुराम प्रधान, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष हमाल, ड्राइभिङ स्कुल संघका उपाध्यक्ष योगेन्द्र पोख्रेललगायतले चोकको अवलोकन गरेका थिए। स्थानीयले समेत ट्राफिक लाइट सुचारु भएपछि दैनिक आवागमनमा सहजता आएको भन्दै खुसी व्यक्त गरेका छन्।

4565