• इटहरी । टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १६औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमसम्पन्न भएको छ ।
    स्थापना दिवसको अवसरमा सहकारीले समाजमा योगदान पु¥याएका जेष्ठ नागरिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र बचतकर्तालाई सम्मान गरेको छ ।
    कार्यक्रममा जेष्ठ नागरिकहरू हिरालाल पौडेल, हरिप्रसाद न्यौपाने, जानुका देवी खड्का र इन्द्रप्रसाद घिमिरेलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी उत्कृष्ट ९ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ भने बाल बचतकर्ता, दैनिक बचतकर्ता र ऐच्छिक बचतकर्ता लगायतलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको सहकारीले जनाएको छ ।
    सहकारीलाई उत्पादनमुखी संस्थाका रूपमा अघि बढाउने लक्ष्यसहित चिया प्याकेजिङ, तोरीको तेल उत्पादनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले बताए । स्थानीय स्रोत र सीपको उपयोग गर्दै रोजगारी सिर्जना गर्ने दिशामा सहकारी केन्द्रित रहेको पनी उल्ललेख गरे ।

    सहकारीका सचिव लेखनाथ अधिकारीका अनुसार हाल संस्थामा १,१९६ जना सेयर सदस्य रहेका छन्। सहकारीको सेयर पूँजी २ करोड ५५ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ८० लाख ५८ हजार ८७४ रुपैयाँ, जम्मा कोष १ करोड ३० लाख ८० हजार १५७ रुपैयाँ र बचत निक्षेप ५ करोड ११ लाख ६१ हजार १५१ रुपैयाँ पुगेको छ। त्यस्तै, ऋण लगानी ५ करोड ९६ लाख ४१ हजार ६२९ रुपैयाँ, स्थिर सम्पत्ति १ करोड १२ लाख ३९ हजार ८५५ रुपैयाँ र कुल सम्पत्ति ९ करोड १७ लाख १६ हजार १७३ रुपैयाँ रहेको जानकारी उनले दिए ।

    कार्यक्रम सहकारीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षता तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेल, राष्ट्रिय सहकारी बैंककी अध्यक्ष सबिना श्रेष्ठ, नेवाः बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जितेन्द्र श्रेष्ठ, महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मुना तिम्सिना, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमले सहकारीमार्फत समुदायको आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

4565