• इटहरी । केही दिनदेखि लगातार बढ्दो चिसोका कारण तराईका विभिन्न जिल्लासहित इटहरीमा जनजीवन निकै प्रभावित बनेको छ। आज अत्यधिक चिसो, बाक्लो हुस्सु र सितलहर चलेसँगै बिहानैदेखि सर्वसाधारण दैनिकीमा कठिनाइ झेल्न बाध्य भएका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन ्।
    चिसो बढे पनि विद्यालयहरू नियमित रूपमा सञ्चालनमा रहेकाले विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने चिन्ता अभिभावकहरूले व्यक्त गरेका छन्। बिहानको समयमा बाक्लो कुहिरोका कारण सवारी आवागमनसमेत प्रभावित हुँदा विद्यालय पुग्न विद्यार्थीहरूलाई कठिनाइ भएको छ। जाडोका कारण रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले सतर्क रहन सुझाव दिएका छन ।

    इटहरीका विभिन्न चोक, बसपार्क तथा सार्वजनिक स्थानहरूमा मानिसहरू आगो ताप्दै जाडोबाट बच्ने प्रयास गरिरहेको दृश्य देखिएको छ । दैनिक मजदुरी गर्ने श्रमिक, सडकमा व्यापार गर्ने व्यापारी तथा बिहानै काममा निस्कनुपर्ने सर्वसाधारणलाई चिसोले बढी समस्या पारेको छ ।
    मौसमविद्हरूले अझै केही दिन चिसो यथावत् रहने पूर्वानुमान गरेसँगै स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। न्यानो कपडा प्रयोग गर्न, अत्यावश्यक बाहेक बिहानको समयमा बाहिर ननिस्कन र बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्न सबैलाई अनुरोध गरिएको छ ।

4565