• इटहरी–४ स्थित पाथिभरा सेकेण्डरी स्कुलद्वारा आयोजित पाथिभरा ट्यालेन्ट हन्ट ग्रान्ड फिनाले सिजन–६ कार्यक्रम सम्पन्न भएको छ ।
    सीप, प्रविधि र संस्कृतिसहितको समग्र शिक्षा प्रदान गर्दै आएको विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको यो प्रतियोगिता दुई दिन सम्म संचालन भएको थियो ।
    प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
    प्रतियोगितामा ह्याण्डराइटिङ, गायन, नृत्य, वक्तृत्वकला, कविता वाचन, कथा वाचन, नाटक तथा विभिन्न खेलकुद विधा मार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न कक्षाका विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गरेकालाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले विद्यालयको खुलेर प्रशंसा गर्दै स्थापना भएको ३४ औँ वर्षसम्म आइपुग्दा पाथिभरा सेकेण्डरी स्कुलले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय प्रगति गरेको बताए। विद्यार्थीहरूले विभिन्न विधामा देखाएको प्रतिभाका कारण विद्यालय जिल्लामै अग्रणी बन्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकासमा ठूलो योगदान पु¥याउने बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले संस्थापकहरूले देखेको शैक्षिक सपना आज पनि जीवन्त रहेको उल्लेख गरे। पाँच वर्षअघि विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु गरिएको ट्यालेन्ट हन्ट कार्यक्रम विद्यालयको पहिचान बनेको उनको भनाइ थियो। सामाजिक दायित्वलाई आत्मसात गर्दै विद्यालयले विद्यार्थीलाई विविध गतिविधिमा सक्रिय गराउँदै आएको उनले बताए ।

    त्यस्तै विद्यालयका प्रिन्सिपल डा. गोपाल श्रेष्ठले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई संस्कार, संस्कृति र सिर्जनशीलताको विकाससँग जोडिनुपर्ने धारणा राखे। पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको उनले जानकारी दिए ।

    सोही अवसरमा विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक तथा शिक्षिकाहरूलाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालको अध्यक्षता तथा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिभावक,विभिन्न सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

4565