• इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय अगाडि जेनजेड आन्दोलनका क्रममा आगजनी भएका सवारीसाधनहरू हटाइएका छन् । लामो समयदेखि सडकछेउमा थन्किएर रहेका ती गाडीहरूले आवतजावतमा अवरोध सिर्जना गर्दै आएका थियो । इटहरी उपमहानगर पालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष दिवस पोख्रेलको समन्वयमा सुनसरी वैदेशिक रोजगार संघ इटहरी र ढुवानी व्यवसायी सन्तबहादुर डुम्जनको सहयोगमा सफाइ कार्य सम्पन्न गरिएको हो ।
    सुनसरी वैदेशिक रोजगार संघका अध्यक्ष चंखमान तामाङका अनुसार इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुभाष हमालको प्रत्यक्ष उपस्थितिमा गाडीहरू हटाइएका हुन् ।

    केही महिना अघि जेनजेड आन्दोलनका क्रममा भएका क्षतिको कारण सडक विस्तार तथा सरसफाइमा समस्या परेको भन्दै वडाध्यक्ष पोख्रेलले प्रभावकारी रूपमा सफाइ गरिएको बताए ।
    सफाइका लागि वैदेशिक रोजगार संघले क्रेन उपलब्ध गराएको र ढुवानी व्यवसायी तर्फबाट टेलरको व्यवस्था गरिएको ढुवानी ब्यवसायी महासंघका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।
    हटाइएका सवारीसाधनहरू हाल इलाका प्रहरी कार्यालय रंगशाला क्षेत्रमा व्यवस्थित रूपमा राखिने जनाइएको छ ।

4565