• सुन्दरहरैंचा । नेपालका ऐतिहासिक प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजको प्रमुख आतिथ्यमा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम २०८२ सुन्दरहरैंचाको विराट चौकमा भव्य रूपमा सम्पन्न भएको छ ।
    कार्यक्रम पुरातन वैदिक सनातन धार्मिक प्रर्वधन समिति, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा, मोरङ, र इन्द्रपुर समस्त भजन सञ्जाल, सुन्दरहरैंचाको संयुक्त आयोजनामा गरिएको थियो ।
    सुन्दरहरैंचाको काली मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजलाई उपस्थित हजारौं भक्तजन र श्रद्धालुहरूले स्वागत गर्दै नागरिक अभिनन्दन गरिएको थियो ।
    सोही कार्यक्रमका अवसरमा अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा प्राप्त योगदान तथा उपलब्धिहरूको आधारमा सम्मान गरिएको थियो ।
    मलेसियामा आयोजित अन्तर्राष्ट्रिय एवार्ड पाएका बेलबारी–४ मा रहेको डेल्टा इग्लिस स्कुलका प्रधानाध्यापक पर्वत राईलाई कम्युनिटी इम्प्याक्ट अवार्ड अन्तर्गत इन्टरनेशनल अवार्ड प्रदान गरेका थिए ।

    त्यसैगरी, सुन्दरहरैंचा–१० का हिमालय इग्लिस स्कुलका सस्थापक प्रधानाध्यापक कमल प्रसाद खनाललाइ प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजले सम्मान गरेका थिए ।
    कार्यक्रममा बोल्दै प्रथम जगतगुरुले भक्तजनशरुले गरेको भब्य स्वागतको प्रसंसा गर्दै धर्म भनेको मानवताको मूल आत्मा हो । जबसम्म समाजमा सत्य, अहिंसा, दया र करुणा जीवित रहन्छन्, तबसम्म धर्म जीवित रहन्छ । आजको युवा पुस्ताले ज्ञान र संस्कार दुवै आत्मसात् गर्न जरुरी छ, किनकि नैतिकता बिना ज्ञान अधुरो हुन्छ । सनातन धर्म मानव सभ्यताको आधारशिला हो, यसलाई बचाउनु र फैलाउनु हामी सबैको कर्तव्य रहेको बताए ।

    त्यस्तै स्वतन्त्र नागरिक समाजका अध्यक्ष नेत्र प्रसाद चौम्लागाईले आजको कार्यक्रम केवल सम्मान समारोह होइन, यो सनातन मूल्य र मानवीय एकताको प्रतीक हो । हामी सबैले धर्म र समाज दुवैको समुन्नतिको लागि हातेमालो गर्नुपर्छ । यस्तो कार्यक्रमले समुदायबीच एकता, प्रेम र आत्मीयताको वातावरण सिर्जना गरेको बताएका थिए ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जगतगुरु मोहनशरण देवाचार्य महाराज जस्ता आध्यात्मिक गुरुहरू हाम्रो समाजका प्रकाशस्तम्भ हुन् । उहाँजस्ता सन्तहरूले समाजमा धार्मिक चेतना, नैतिकता र एकताको भावना जागृत गराउदै आएको र प्रदेश सरकारले यस्ता धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमलाई सधैं प्रोत्साहन गर्ने बताए ।
    सोही अवसरमा सुन्दरहरैंचा नगरपालिका–गोठगाउँका जीवनाथ भट्टराई र उनकी सावित्रा देवी भट्टराईलाई पनि विशेष सम्मान गरिएको थियो । ७ वर्षको उमेरदेखि नै दैवी प्रेरणाबाट अन्न त्याग गरी फलफूल र गाईको दूध मात्र सेवन गर्दै देवसेवा, गौसेवा र समाजसेवामा लाग्नुभएका जीवनाथ भट्टराई दम्पतीलाई धार्मिक तथा सामाजिक प्रेरणादायी व्यक्तित्वका रूपमा सम्मान गरिएको हो ।

    कार्यक्रममा निरञ्जन प्रसाद आचार्यलाई पनि समाजसेवा र धार्मिक कार्यमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।
    कार्यक्रमको बारेमा जानकारी दिँदै स्वतन्त्र नागरिक समाजका सल्लाहकार अविरल घिमिरेले यस्तो धार्मिक तथा सांस्कृतिक सभा समाजमा सद्भाव, एकता र सनातन संस्कृतिको जगेर्नामा टेवा पुग्ने बताए ।
    भक्तजनहरूले जगतगुरु मोहनशरण देवाचार्य महाराजज्यूको दिव्य उपदेश सुनेका थिए भने कार्यक्रमले धार्मिक चेतना र समाजसेवाको भावना अझ सुदृढ बनाएको बताइएको छ ।
    कार्यक्रममा कोशी प्रदेश सांसद सुनिल शर्मा, राधेश्यम सेवा ट्रष्ट नयाँ विन्दावन गौशालका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्री,पुरातन वैदिक सनातन धार्मिक प्रर्वधन समितिका अध्यक्ष जय प्रसाद खतिवडा, र इन्द्रपुर समस्त भजन सञ्जालकी अध्यक्ष गीता लम्साल लगायतका विभिन्न संघसस्थाका प्रतिनिधीहरुको उलेखिय सहभागिता रहेको थियो ।

4565