• इटहरी । पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूले आइतबार सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
    शनिबार सम्पन्न वार्षिक साधारण सभाबाट राजु दंगालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिको उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, र सदस्यहरूमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल, कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला निर्वाचित भएका छन् ।
    त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई र सदस्यहरूमा नगेन्द्र अधिकारी तथा योगेन्द्र कुमार पोखरेल निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूले निर्वाचन समितिको उपस्थितिमा गोपनीयता सहित पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।
    कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश भट्टराईले आफ्नो कार्यकालमा साथ र सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्दै सहकारीको निरन्तर प्रगति र पारदर्शिता कायम राख्न नयाँ नेतृत्वलाई सफलता पुर्वक संचालन गर्न आग्रह गरे ।
    नवनिर्वाचित अध्यक्ष राजु दंगालले सहकारीलाई अझ सक्षम, सबल र पारदर्शी संस्थाका रूपमा विकास गर्न पूर्ण प्रतिबद्धता जनाए । उनले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्य नै सहकारीको बल रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीका सेवाहरू अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सदस्य शालिकराम ढकालले नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सहकारीको मूल आत्मा नै पारदर्शिता, उत्तरदायित्व र सदस्यकेन्द्रित सेवा रहेको बताए ।
    उनले सहकारी संस्था समुदायको आर्थिक सबलीकरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सहकारीहरूले सदस्यहरूको आवश्यकता र विश्वासलाई प्राथमिकतामा राखी जिम्मेवार नेतृत्वका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
    संस्थाले विगतका वर्षहरूमा देखाएको अनुशासन, सदस्य सहभागिता र सेवाको गुणस्तर प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि सहकारी क्षेत्रको नमुना संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
    सपथ ग्रहण कार्यक्रमको अध्यक्षता निर्वाचन समितिका संयोजक हरि बहादुर खत्रीले गरेका थिए भने नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सदस्य शालिकराम ढकालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार लेखनाथ घिमिरे, बचत संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष प्रल्हाद दाहाल, सल्लाहकार डा. बेणु प्रसाद सिटौला, निवर्तमान सचिव गणेश कुमार दुलाल सहित पदाधिकारी, सदस्य र सरोकारवालाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

4565