इटहरी । नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी स्काउट समूहले आयोजना गरेको दुई दिन एक रातको आन्तरिक क्याम्पिङ कार्यक्रम अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ । यस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई व्यवहारिक सीप, आत्मअनुशासन र सामाजिक उत्तरदायित्व बोधमा सशक्त बनाउने उद्देश्य सहित आन्तरिक क्याम्पिङ कार्यक्रम योजना गरिएको हो । क्याम्प फायरको अवसरमा बोल्दै बब्लु शाहले स्काउट कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सहयोग र नेतृत्व क्षमता विकासमा योगदान पु¥याउने बताउनुभयो। उहाँले क्याम्प फायरको ऐतिहासिक पृष्ठभूमि र यसले प्रदान गर्ने प्रेरणाको विषयमा समेत विस्तृत रूपमा व्याख्या गर्नुभयो। त्यस्तै, स्थानीय स्काउट प्रमुख डा. बेणु प्रसाद सिटौलाले क्याम्प फायरको उद्देश्य, आवश्यकता र यसको व्यावहारिक महत्वबारे धारणा राख्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास र राष्ट्रप्रेमको भावना जागृत गराउने बताए ।
दुई दिनसम्म सञ्चालन भएकोे आन्तरिक क्याम्पिङ कार्यक्रममा सदस्यता ब्याज प्राप्त ५० जना ब्वाइज स्काउट र गल्र्स स्काउटको सहभागिता रहेको थियो । क्याम्पिङ कार्यक्रमको दोस्रो दिन अर्थात् कार्तिक २२ गते सर्वधर्म सभा तथा दीक्षान्त समारोह सहित स्काउट सदस्यता ब्याज वितरण गरी दिक्षित गरिएको कार्यक्रम संयोजक पानस चौलागाईंले जानकारी दिए ।
सो क्याम्पिङ कार्यक्रम क्याम्प चिफ विश्वास सिटौलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा डिभिएम विद्यालय सञ्चालक समितिका उपाध्यक्ष ईश्वरी पराजुली, सदस्य सचिव निलम चौलागाईं, इटहरी स्थानीय स्काउट कार्यालयका प्रमुख डाक्टर बेणु प्रसाद सिटौला, सदस्यता वृद्धि आयुक्त नारायण सुवेदी, कार्यसमिति सदस्य बन्दना खनाल लगायत स्काउट तथा रोबर–रेन्जर र स्काउट मास्टरहरूको सहभागिता रहेको थियो ।