• इटहरी । जुम्लाको उच्च हिमाली भेगमा उत्पादन भएको अर्गानिक स्याउ अब कोशी प्रदेशको इटहरीमा समेत उपभोक्ताको रोजाइमा पर्न थालेको छ। तिहार पर्वलाई लक्षित गर्दै जुम्लाका किसान तथा व्यवसायीहरूले ताजा स्याउको बिक्रीका लागि इटहरीमा स्टल सञ्चालन गरेका छन्।

    सिंजाबाट स्याउ बेच्न आएका व्यवसायी राम हमालले खुसी हुँदै बताए, “यसपालि स्याउ देख्नमा खास राम्रो नभए पनि स्वादमा अत्यन्त मीठो छ। अर्को पटक उपस्थिति पनि आकर्षक हुने गरी ल्याउने तयारी छ।” उनले थपे, “अब घर फर्किएपछि आफ्नै जमिनमा १५ सय बिरुवा रोपेर स्याउको व्यवस्थित बगैंचा विकास गर्ने योजना छ।”

    इटहरीको दुर्गा पार्टी प्यालेस अगाडि स्याउ बिक्रीमा संलग्न अर्का व्यवसायी अमर काफ्लेले जानकारी दिए अनुसार, “उच्च हिमाली क्षेत्रमा गाई, भैँसी, भेडाको गोबर तथा झारपातबाट उत्पादन गरिएको अर्गानिक मल प्रयोग गरेर फलाइएको स्याउ हामीले इटहरी ल्याएका हौं। खुद्रा र होलसेल दुवै रूपमा विक्री भइरहेको छ। फोनमार्फत अर्डर गरेमा कोशी प्रदेशभर स्याउ पुर्‍याउन सकिने व्यवस्था गरिएको छ।” काफ्लेले बताए अनुसार, जुम्लाबाट स्याउ बिक्री व्यवसाय उनी १० वर्षदेखि गर्दै आए पनि इटहरीमा कारोबार सुरु गरेको भने दुई वर्षमात्र भएको हो।

    स्थानीय उपभोक्ताहरू पनि जुम्लाको स्याउप्रति सन्तुष्ट देखिन्छन्। इटहरी–९ निवासी ओमप्रकाश मण्डलले भने, “स्याउ एकदमै मिठो छ। एक पटक खाएपछि फेरि खोज्ने इच्छा जाग्छ। यदि यसको विशेषता अझ जनस्तरसम्म फैलाउन सकियो भने माग निकै बढ्नेछ, तर त्यसअनुसार आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ।”

    इटहरी–४ निवासी सीता भट्टराईले स्याउको स्वादको प्रशंसा गर्दै भनिन्, “यो स्याउ खाँदा अत्यन्त स्वादिलो लाग्यो। म त दिनमा दुईवटा स्याउ खाँदा दिनभरि भोक नलाग्ने र उर्जा मिल्ने अनुभव गरे ।

    अर्का व्यवसायी युवराज काफ्लेले भने, “आफ्नै देशको माटोमा उत्पादन भएको स्वादिलो स्याउबारे जनचेतना फैलाउन सकियो भने अझ राम्रो बजार विस्तार हुनसक्छ। धेरैजसो कर्मचारी र विज्ञहरू समेत आएर यो स्याउ किन्नुहुन्छ, जसले यसको गुणस्तर पुष्टि गर्छ।”

4565