• इटहरी । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा कोसी प्रदेशमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिबारे विस्तृत जानकारी दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा कोसी प्रदेशका १४ जिल्लाका २३ जना सञ्चारकर्मी सहभागी भएका थिए ।
    कार्यक्रमका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा खेलेको भूमिका, विकास निर्माणका क्षेत्रमा गरेको योगदान र हालका समसामयिक गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो ।
    सेनाले समाजमा शान्ति सुरक्षा, राष्ट्रिय एकता र विकासमा निर्वाह गरिरहेको भूमिकाबारे पनि प्रस्तुतिहरू दिइएको थियो ।

    पूर्वी पृतना इटहरीको समन्वयमा सञ्चालित कार्यक्रममा सेनाले कोशी प्रदेशका विभिन्न स्थानको स्थलगत अवलोकन पनि गराइएको थियो ।
    सहभागीहरूले सेनाको कार्यशैली, पारदर्शिता र जनसेवामुखी दृष्टिकोणबारे प्रत्यक्ष अनुभव लिन पाएको सहभागीहरुले बताए ।

    समापन समारोहमा बोल्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सञ्चारकर्मी र सेना बीचको सहकार्यले नागरिक–सैनिक सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस्तो अभिमुखीकरणले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई सेनाको कार्यविधि र उद्देश्यबारे नजिकबाट बुझ्न सहयोग पुग्ने बताए ।

    उनले सेनाको भूमिकाबारे सही र सन्तुलित जानकारी प्रवाह गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पारस्परिक समझदारी र समन्वय सुदृढ गर्न आग्रह गरे ।
    कार्यक्रमले सेनाको जिम्मेवारी, चुनौती र योगदानबारे सञ्चारकर्मीहरूमा स्पष्टता ल्याएको तथा भविष्यमा अझ प्रभावकारी सहकार्यका लागि आधार बन्ने बताइएको छ ।

4565