• काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले अब राजनीतिक दलहरूसँग व्यापक छलफल गर्ने तयारी गरेको छ ।

    आयोगले ३० असोजका दिनका लागि सबै दललाई छलफलका लागि बोलाउने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलका लागि आवश्यक तयारी पूरा भइसकेको छ भने औपचारिक पत्राचारको प्रक्रिया सुरु हुन बाँकी छ ।

    उनले भने, “दलहरूसँग छलफल गर्ने असोज ३० का लागि तयारी भएको छ, औपचारिक पत्र लेख्ने काम बाँकी छ ।”

    यसअघि निर्वाचन आयोगले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका समेत सार्वजनिक गरेको थियो । तर, मिति घोषणा र कार्यतालिका तयार पार्ने क्रममा राजनीतिक दलहरूसँग कुनै प्रकारको परामर्श नगरेको भन्दै आयोग र सरकारमाथि विभिन्न दल तथा राजनीतिक विश्लेषकहरूले आलोचना गर्दै आएका थिए ।

    दलहरूका अनुसार निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय प्रक्रियामा आयोगले सबै सरोकारवालासँग पूर्व–परामर्श गरी साझा समझदारीमा अघि बढ्नुपर्नेमा त्यसो नगर्नु गलत अभ्यास भएको बताएका छन् ।

    यसैबीच, आयोगले भने निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ । आयोगका अधिकारीहरूका अनुसार मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र निर्धारण, प्राविधिक पूर्वाधार तयारी र सुरक्षा संयोजनका काम चरणबद्ध रूपमा अघि बढाइएका छन् ।

    आगामी ३० असोजको छलफलमा निर्वाचन मिति, कार्यतालिका, दल दर्ता प्रक्रिया, खर्च सीमांकन, आचारसंहिता र मतदाता शिक्षा कार्यक्रमलगायत विषयमा गहन बहस हुने आयोगको तयारी छ ।

    आयोगका एक अधिकारीका अनुसार, “यो छलफलमा दलहरूको सुझावलाई प्राथमिकताका साथ सुन्ने र आवश्यक परे कार्यतालिकामा समायोजन गर्ने सम्भावना पनि रहनेछ ।”

    राजनीतिक विश्लेषकहरूले पनि आयोगको यो कदमलाई सकारात्मक भनेका छन् । उनका अनुसार, सुरुवातमा देखिएको असन्तुष्टि अन्त्य गर्न र निर्वाचनलाई सर्वपक्षीय विश्वासयोग्य बनाउन यो छलफल निर्णायक हुने अपेक्षा गरिएको छ ।

    यसअघि सरकार र निर्वाचन आयोगबीच निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र बजेट व्यवस्थापनसम्बन्धी प्रारम्भिक छलफल भएको थियो । अब दलहरूसँगको भेटपछि आयोगले औपचारिक निर्वाचन कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

4565