इटहरी । ऋषि पञ्चमीको अवसरमा पाथिभरा सेकन्डरी स्कुलले विभिन्न विषयगत विशेष प्रशिक्षण तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली महिलाहरूले धार्मिक आस्था र श्रद्धाका साथ मनाउने ऋषि पञ्चमी पर्वका अवसरमा विद्यालयले महिला शिक्षक तथा कर्मचारीलाई विदा दिएको थियो ।
यस अवसरमा ठुला कक्षाका विद्यार्थीहरूले साना कक्षाका विद्यार्थीहरूलाई पठन–पाठन गराउने व्यवस्था मिलाइएको थियो ।
यसले विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी निर्वाह गर्ने क्षमता र सहकार्यको भावनालाई प्रोत्साहन गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको शैक्षिक, व्यवहारिक तथा व्यक्तित्व विकासलाई लक्षित गरी विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका विज्ञहरूले प्रशिक्षण दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रिजालले यस्ता गतिविधिले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी व्यवहारिक जीवनमा पनि सक्षम बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रशिक्षणमा जीवन मूल्य शिक्षा, समय व्यवस्थापन, शैक्षिक अनुशासन, योग–ध्यान, सामाजिक उत्तरदायित्व लगायत विषय समेटिएर विद्यार्थीहरुमा अझ दक्षता प्रदान गर्ने अध्यक्ष रिजालले बताए । विद्यालयको सभा हल र लायन्स क्लबको हलमा कक्षा पिजीदेखि १० सम्मका करिब एक हजार विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा कृत्रिम बुद्धिमत्ताबारे लिला राज भट्टराई, व्यक्तित्व विकास तथा व्यक्तिगत स्टाइलिङबारे बनिशा कट्टेल, किशोरावस्था र आत्म–अवलोकनबारे प्रमेश कटुवाल, गणितलाई रमाइलो बनाउन अमिश गुरुङ, नेतृत्वको सुन्दरता सम्बन्धी सुस्मा ढकाल, विज्ञानका घरायसी प्रयोगबारे सुषिला चौलागाई र ‘गुड टच–ब्याड टच’ सचेतनामूलक प्रशिक्षण सुवानी कार्कीले दिएका थिए । साथै एनएमबी बैंकका प्रतिनिधिले वित्तीय साक्षरताबारे प्रशिक्षण प्रदान गरेका थिए ।