• इटहरी । लामो समय देखि गायन क्षेत्रमा रहेकी पूर्वेली लोकगायिका अञ्जु गौतमको मौलिक गीतहरू म्युजिक नेपालले युट्युबमा अनुचित रूपमा ब्लक गरिएको भन्दै सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी छिन् ।
    इटहरीमा पत्रकार सम्मेलनमा उनले तीन चर्चित गीतहरु लैबरी माया, पानी प¥यो झमझम, र माला लाउनु फुलैको गाँसेर बोलको गितहरु आफ्नै अफिसियल युट्युबमा म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको पहलमा बिना कारण कपिराइटको उजुरी गरिएको गायिका गौतमले दाबी गरिन् ।
    गौतमले ब्लकको कारण स्पष्ट प्रमाण सहित देखाउन सकिने भए पनि ‘कपिराइट’को नाममा आफ्नो गीत ब्लक गर्नु कलाकारलाई मानसिक यातना दिने उद्देश्यबाहेक केही नभएको आरोप लगाइन ्।
    उनले ब्लक हटाउन अनुरोध गर्दा समेत धम्की र दबाबको सामना गर्नु परेको बताइन् ।


    उनले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार मौलिक सिर्जनात्मक कृतिलाई सुरक्षा दिइएको भए पनि लोक भाका र परम्परालाई आत्मसात् गरेर सिर्जना गर्ने अधिकार कलाकारलाई खुला भएको उल्लेख गर्दै आफ्ना गीतहरू मौलिक परम्परामा आधारित भएको दाबी गरिन ्।
    दुई दशकदेखि कोशी प्रदेशलाई आधार मानी गायन क्षेत्रमा सक्रिय गौतमले तीन सयभन्दा बढी लोकगीत गाइसकेकी छिन् । तर लोकप्रिय गीत ब्लक भएपछि आर्थिक र मानसिक दुवै असर परेको उनले गुनासो गरिन् । यस घटनापछि उनले अब कानुनी बाटो रोज्ने चेतावनी दिएकी छिन् ।
    हालका वर्षहरूमा युट्युब जस्ता डिजिटल प्लेटफर्ममा कपिराइट विवाद बढ्दै गएको छ । विशेषगरी लोकगीतमा भाका समानता हुने भएकाले विवाद झन् चर्किने अनुभव कलाकारहरूको छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार, लोक भाका प्रायः सार्वजनिक सम्पत्तिमा पर्ने भए पनि नेपालमा स्पष्ट नीति र अभ्यास नहुँदा समस्या दोहोरिँदै आएको हो ।
    पत्रकार सम्मेलनमा गायक तथा संगितकार बालकृष्ण कार्की,लोकदोहरी गायिका गंगा गौतम आचार्य,पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो का संचालक रुद्र श्रेष्ठ,गायक गायत्री लम्साल,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

4565