• इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गरेको विशाल रक्तदान कार्यक्रममा अभूतपूर्व सफलता हासिल गर्दै २५२ पिन्ट रगत संकलन गरिएको छ।

    यस वर्षको रक्तदान कार्यक्रमलाई विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८औँ पुण्य स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको देशैभरका ब्रह्माकुमारी सेवा केन्द्रहरूद्वारा विभिन्न स्थानमा रक्तदान कार्यक्रमहरू आयोजना गरिए पनि, इटहरी केन्द्रमा सर्वाधिक रगत संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

    इटहरीमा विभिन्न संघसंस्थाहरूले समय–समयमा रक्तदान कार्यक्रम गर्दै आए पनि यस पटक पहिलो पटक यति ठूलो संख्यामा रगत संकलन हुनु ऐतिहासिक उपलब्धि भएको आयोजकले बताएका छन्।

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, छैठ सेवा समिति, जीवन विज्ञान, पूर्वेली क्लब लगायतका संस्थाहरूको सहआयोजना तथा सक्रिय सहयोग रहेको थियो।

    नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र धरानको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा चिकित्सक तथा प्राविधिक टोली सहितले रगत संकलन गरिएको थियो। अस्पतालमा पूर्ण स्तरीय ब्लड बैंकको सुविधा अभाव भएका कारण यस किसिमको ठूलो रक्तदानले इटहरी तथा आसपासका नागरिकलाई जीवनरक्षक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले मानव जीवनभन्दा ठूलो कुरा केही छैन। जब हामी मूल्य र सेवाको कुरा गर्छौं, जीवन बचाउनु नै सबैभन्दा ठूलो मानव सेवा हो। एउटा थोपा रगतले अर्को व्यक्तिको जीवन बचाउन सक्छ। त्यसैले रक्तदानलाई निरन्तरता दिनु हाम्रो सामाजिक दायित्व रहेको पनी नगर प्रमुख पौडेल बताए ।
    यसैगरी, कोशी प्रदेश सांसद मिना श्रेष्ठले पनि ब्रह्माकुमारी संस्थाद्वारा देशैभर सञ्चालन भइरहेका रक्तदान कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भनिन् रक्तदान कार्यक्रम केवल स्वास्थ्य सेवा मात्र नभई मानव जीवनको रक्षा गर्ने पुनीत कार्य हो। यस्तो महत्त्वपूर्ण अभियानमा जनसमुदायको ठूलो सहभागिता हुनु गर्वको विषय बताइन ।

    कार्यक्रमकी अध्यक्ष तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी संचालिका ब्रह्माकुमारी शारदा सिटौलाले एउटा व्यक्तिले दिएको रगतले अर्को मानिसको जीवन बच्छ भने त्यो जीवनको मूल्यसँग तुलना गर्न सकिँदैन। त्यसैले रक्तदान नै सबैभन्दा ठूलो पुण्य कार्य हो। प्रकाशमणि दादीको पुण्य स्मृति दिवसमा गरिएको यसपटकको रक्तदान कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न हुनु निकै हर्षको कुरा भएको बताइन ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश भट्टराई, छैठ सेवा समितिका अध्यक्ष मनोज चौधरी, लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा प्रतिष्ठित व्यक्ति तथा संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

    इटहरीमा पहिलो पटक आयोजित यस किसिमको ठूलो रक्तदान अभियानले स्थानीय समुदायलाई मात्र होइन, सम्पूर्ण प्रदेशकै लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। ब्रह्माकुमारी संस्थाले समाजमा आध्यात्मिक, सामाजिक र सेवामूलक कार्यसँगै जीवनरक्षक अभियान मार्फत मानवीय मूल्यलाई व्यवहारमा उतार्दै आएको स्पष्ट हुने आयोजकहरूको धारणा छ।

4565