• इटहरी । हरेक वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा नाग पञ्चमीका दिनबाट लाखे जात्रा सुरु गरिएको छ ।

    नेवा दे दबु इटहरीको आयोजनामा नागपञ्चमीका दिन इटहरी रहेको नेवा पुचः भवन परिसरमा रहेको भिमसेन मन्दिरमा विधिवत रुपमा पुजा गरी यस वर्षको लाखेजात्रा सुरु गरिएको हो । इटहरीका विभिन्न ९ वटा टोल समितिबाट लाखेजात्रा निकालेर यस वर्षको लाखे जात्राको सुरुवात गरियो । नेवारी समुदायका मानिसहरु सहभागी रहेको नेवा पुचः इटहरी , मिशा पुृचः इटहरी , ल्याम पुचः इटहरी लगायतको सहभागितामा लाखे जात्रा निकाली रहेको मिशा पुचःकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठले जानकारी दिईन । नाग पञ्चमीबाट सुरु हुने लाखेजात्रा कृष्णजन्माष्ठमीका दिन सम्म चल्ने साथै गाईजात्राका दिन वर्ष भरी दिगंवत भएका आफन्तहरुको स्मृतिमा गाइजात्रा सहित लाखेजात्रा पनि निकाल्ने गरिन्छ ।

    विगतका वर्षहरुमा पनि इटहरीमा लाखे जात्रा निकाल्ने गरिएको छ भने नेवारी समुदायका मानिसहरुले मनाउने चाडपर्वहरु सामुहिक रुपमा मनाउने गरिएको छ । विशेष गरेर काठमाडौं उपत्यकामा नेवारी समुदायका मानिसहरुले विभिन्न चार्डपर्वहरु सामुहिक रुपमा मनाउने गरेको पाइन्छ । पुर्वी नेपालको इटहरीमा समेत केही वर्ष अघि देखि नेवारी समुदायका मानिसहरु संगठित भएर आफना कला ,संस्कृतिको जर्गेनाका लागि लाखेजात्रा ,गाइजात्रा लगायतका चाडपर्वहरु सामुहिक रुपमा मनाउने गरेका छन । नयाँ पुस्तालाई आफना कला ,संस्कृति ,भेषभुष लगायतका विषयमा जानकारी सहित संरक्षणमा जागरण गर्न यस प्रकारका कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिन्छ ।

4565