• इटहरी । भारतको छत्तीसगढ राज्यमा हालै सम्पन्न भएको मानव अधिकार तथा अपराध नियन्त्रण व्यूरोद्वारा आयोजित विशेष कार्यक्रममा इटहरीका दुईजना विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका छन ।
    नारी सशक्तिकरण र सामाजिक सेवामा प्रेरणादायी योगदान दिँदै आइरहेकी सुश्री गीता गौतमलाई ‘नारी रत्न अवार्ड’ प्रदान गरिएको हो ।
    गौतमले इटहरीमा निःसहाय बालबालिकाका लागि स्थापना गरेको निःसहाय बालबालिका सेवा आश्रमले विगत ३ दशक अघिदेखि अनाथ, असहाय तथा बेवारिसे बालबालिकाको संरक्षण, शिक्षा दिक्षा र जीवन निर्माणमा अतुलनीय भूमिका खेल्दै आएको भन्दै आश्रमकी सस्थापिका सुश्री गौतम सम्मानित भएकी छन ।

    त्यस्सै कार्यक्रममा इटहरीका चर्चित नृत्य निर्देशक, कलाकार तथा बहुप्रतिभाशाली सांस्कृतिक अभियन्ता तुलसी घिमिरेलाई पनी छत्तीसगढ कला रत्न अवार्ड प्रदान गरिएको छ ।
    घिमिरेले नेपाली लोकसंस्कृति र कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गर्दै पूर्वेली मारुनी, पश्चिमेली कौडा, तथा नेपाली राष्ट्रिय गीतमा आधारित नृत्य प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा प्रस्तुत सम्पूर्ण नृत्यहरू घिमिरेकै कोरियोग्राफीमा तयार गरिएका थिए, जसमा सेन्चु गौतम,कृष्ण गौतम, भारती, युनिसा, लिजा गौतम लगायत अन्य थुप्रै नेपाली कलाकारहरूले सहभागिता जनाएका थिए ।
    नृत्य मार्फत नेपाली पहिचान, भेषभूषा र सांस्कृतिक विविधतालाई भारतका दर्शकसामु अत्यन्त आकर्षक ढंगमा प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा नेपालको तर्फबाट गायन विधामा ‘नेपाली कैलाश खेर’ भनेर चिनिने गायक अनिस परियारले दमदार प्रस्तुति दिएर सम्पूर्ण वातावरण नेपाली साङ्गीतिक स्पन्दनले भरिपूर्ण बनाएका थिए ।
    तुलसी घिमिरेले कार्यक्रममै हिन्दी र नेपाली गीतहरूमा गायन तथा नृत्य प्रस्तुत गरेर दुवै मुलुक बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएका थिए ।
    यस अवसरमा आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि सम्मानित भएका छन् । श्रेष्ठ इटहरीको सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका छन ।
    सम्मानित गौतमले यस अघि पनि भारतको दिल्लीबाट दक्षिण एसियाली नेशनल मण्डला ह्युमेन राईट्स संगै अन्य थुप्रै देशहरुले आयोजना गरेको कार्यक्रममा अन्य थुप्रै अवार्डहरुबाट सम्मानित भइसकेकि छन ।

    यो सम्मानले केवल इटहरी नगरको प्रतिष्ठा मात्र नभइ पूर्वी नेपालकै कला, संस्कृति र समाजसेवालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।

4565