• इटहरी । केहि दिन यता देखि पुर्वी नेपालमा अवैद्य रुपमा भारतबाट मदिरा तथा पेयपदार्थहरु भित्रि रहेको भन्दै मदिरा व्यवसायीहरुले अवैद्य आयत रोक्नु पर्ने माग गरेका छन ।

    इटहरी मदिरा व्यवसायी संघको नेतृत्वमा मदिरा तथा पेय पदार्थ व्यवसायीहरुले नेपाल सरकारको राजस्व संकलनलाई समेत प्रभाव पार्दै आएको अवैद्य मदिरा तथा पेयपदार्थ आयत हुने कार्य रोक्न माग गर्दै आन्तरिक राजस्व कार्यालय इटहरीलाई ध्यानाकर्षण पत्र वुझाएको हो ।

    संघका अध्यक्ष राजेन्द्रकुमार राईको नेतृत्वमा सुनसरी र मोरगंका मदिरा तथा पेयपदार्थ व्यवसायीहरु ध्यानाकर्षण पत्र वुझाउन आन्तरिक राजस्व कार्यालय इटहरी पुगेका थियो ।

    सो अवसरमा मदिरा तथा पेयपदार्थ व्यवसायीहरुको ध्यानाकर्षण पत्र वुझ्दै आन्तरिक राजस्व कार्यालय प्रमुख लव अधिकारीले भारतीय क्षेत्रबाट अवैद्य रुपमा भित्रने मदिरा तथा पेयपदार्थ रोक्न कार्यालयले विभिन्न कार्यहरु गर्दै आएको जानकारी गराए । उनले अवैद्य कारोवार रोक्ने कार्यमा सरोकारवाला सबैको सहयोग हुनु पर्नेमा समेत जोड दिए ।

    व्यवसायीको ध्यानाकर्षणपछि व्यवसायीहरु समेतको सहभागितामा अवैद्य रुपमा भित्रने मदिरा र पेयपदार्थ रोक्ने विषयको छलफलमा आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख अधिकारीले समयसमयमा अवैद्य तरिकाले भित्रने मदिरा लगायतका सामाग्रीहरु नियन्त्रणमा लिएर कारवाही गरिदै आएको समेत जानकारी गराए ।

    सो अवसरमा व्यवसायीहरुले भारतबाट सिकिमे रम , रोयल स्टक , ओल्ड मग , कोक , डिउ लगायतका मदिरा तथा पेयपदार्थहरु अवैद्य रुपमा पुर्वी नाका काकरभिटा सहित देशका विभिन्न नाका र खुला सिमाना भएर समेत तस्करहरुले भित्रयाउने गरेको जानकारी गराएको थिए ।

    उनीहरुले अवैद्य रुपमा भित्रिने मदिरा र पेयपदार्थका कारण नेपाल सरकारबाट इजाजत लिएर कारोवार गर्ने आफुहरु मारमा परेको मात्र नभएर नेपाल सरकारको राजस्व संकलनमा समेत ठुलो असर परिरहेकाले सरकारी पक्ष गम्भीर हुनुपर्ने वताएका थिए । ध्यानाकर्षण पत्र वुझाउने कार्यक्रममा ५० भन्दा वढी मदिरा तथा पेयपदार्थ व्यवसायीहरुको सहभागिता रहेको थियो ।

4565