• लेटाङ । लेटाङ नगरपालिकाले नगरक्षेत्रमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूसँग प्रत्यक्ष अन्तरसंवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा र सुझाव सुन्ने उद्देश्यले छात्रासँग उपमेयर कार्यक्रम सम्पन्न गरेको छ ।
    लेटाङ–६ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आयोजित कार्यक्रममा नगर क्षेत्रका १७ वटा सामुदायिक तथा निजी विद्यालयहरूबाट ८० जना छात्राहरूको प्रतिनिधि मूलक सहभागिता रहेको थियो ।

    सहभागी छात्राहरूले आफ्नो विद्यालय तथा समुदायमा भोगिरहेका विभिन्न समस्या र अनुभवहरूलाई खुलस्त रूपमा प्रस्तुत गर्दै नगरपालिकाका प्रतिनिधिहरूसँग जिज्ञासा राखेका थिए
    कार्यक्रममा नगरप्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख कृष्णराज राई, कानुनी सल्लाहकार गणेशराज लुइँटेल र इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले छात्राहरूको प्रश्नको जवाफ दिएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लावतीले छात्राहरूले उठाएका प्रश्न तथा समस्या सुनेर नगरपालिकाले आगामी दिनमा योजनाहरू तयार गर्दा मार्गदर्शन हुने बताए ।
    उनले बालविवाह, लागुऔषध दुव्र्यसन, शैक्षिक गुणस्तर, वातावरणीय स्वच्छता जस्ता विषयमा उठाइएका सवालहरू महत्वपूर्ण रहेको भन्दै ती समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाए ।
    साथै उनले लेटाङमा लागुऔषध दुव्र्यसनको समस्या अन्य पालिकाको तुलनामा न्यून भए पनि यसलाई उपेक्षा नगरी सचेतना तथा निगरानीलाई अझै बलियो बनाउने बताए ।

    उपप्रमुख निरौलाले छात्राहरूले उठाएका विषयहरूबाट नगरपालिकाले आफ्ना कार्यक्रमहरू अझ प्रभावकारी बनाउने अवसर पाएको बताइन् ।
    उनले छात्रासँग उपमेयर कार्यक्रम विगत चार वर्षदेखि सञ्चालन गर्दै आइरहेको र यस कार्यक्रमले विद्यालयस्तरमै बालिका शिक्षाका चुनौतीहरू उजागर गर्न सहयोग पुर्याएको उल्लेख गरिन् ।
    उनका अनुसार बालबालिका विशेषगरी छात्राहरूको सुरक्षा, स्वास्थ्य, पहुँच र समान अवसर सुनिश्चित गर्नु नै कार्यक्रमको लक्ष्य रहेको बताइन ।
    कार्यक्रमको सुरुमा कानुनी सल्लाहकार गणेशराज लुइँटेलले साइबर अपराध, यौन दुव्र्यवहार, लैंगिक हिंसा, लागुऔषध, तथा बालविवाहका विषयमा कानुनी जानकारी दिए ।
    उनले ती विषयहरूबारे सचेत रहन, कसैबाट हिंसा भएमा चुप लागेर नबस्न र आत्मरक्षा तथा कानुनी सहायता लिनुपर्ने कुरामा जोड दिए ।

    कार्यक्रममा छात्राहरूले खुलेर प्रश्न राख्ने वातावरण पाएका थिए । उनीहरूले विद्यालय क्षेत्रमा चुरोट तथा गुट्खा बिक्री रोक्नुपर्ने, नगरपालिकाबाट वितरण हुने सेनीटरी प्याड गुणस्तरीय बनाइनुपर्ने, बालविवाहको रोकथाम अझ कडाइका साथ गर्नुपर्ने, पहाडी क्षेत्रका विद्यालयहरूमा पुग्न निकै लामो समय लाग्ने र त्यसले विद्यार्थीहरुलाई जोखिम हुने, सफा शौचालय र शुद्ध खानेपानीको अभाव, तथा बालबालिका हराउने घटनाबारे गम्भीर ध्यान दिनुपर्ने जस्ता विषयमा प्रश्न र गुनासा राखका थिए ।
    त्यसैगरी, लागुऔषध दुव्र्यसनको असर र समाधानका उपाय, विद्यालयको भौतिक पूर्वाधारको अवस्था, आत्मरक्षा तालिमको आवश्यकता, तथा महिला हिंसा विरुद्धको सहायता प्रणालीको अवस्था, विद्यालयमा नर्स र आराम गर्न रुमको ब्यवस्था लगायतका विषमा जिज्ञासा राखिएको थियो ।
    कार्यक्रममा लेटाङ नगर पालिका वडा नम्बर६ का वडाध्यक्ष जंगवीर तामाङ, योजना शाखा प्रमुख चेतनाथ गौतम, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार र सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो ।
    यस कार्यक्रमले नगरपालिकाको नेतृत्व र विद्यार्थीबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्दै सहभागी छात्राहरूलाई सशक्तिकरण र अधिकारप्रति सजग बन्न उत्प्रेरित गरेको आयोजक पक्षको विश्वास छ । साथै, कार्यक्रमले भावी योजनाहरूको निर्माण र नीतिगत सुधारका लागि आधार तयार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

4565