• इटहरी । इटहरी उपमहानगरपालिका वडा नंम्बर ६ ले आयोजना गरेको बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न भएको छ ।
    बालबालिकाहरूले आ आफ्नो बहुआयामिक प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
    वडाभित्र रहेका विभिन्न बाल क्लब, टोल कमिटी, सञ्जाल तथा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता उल्लेखनीय सहभागिता रहेको थियो ।

    वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा १० वटा विद्यालय र १९ वटा बाल क्लबका बालबालिकाहरूले नृत्य, कविता, गजल, वाद्यबादन जस्ता विविध सिर्जनात्मक प्रस्तुति मार्फत आफ्ना प्रतिभाहरू उजागर गरे।
    सहभागी बालबालिकालाई वडा कार्यालयले प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरी सम्मानित गरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर भट्टराईले बालबालिकाको प्रतिभाको खुलेर प्रशंसा गर्दै आगामी बजेटमा बालमैत्री कार्यक्रमका लागि थप बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। उनले बाल क्लब तथा टोल कमिटीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिभा प्रस्फुटनले उनीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।

    कार्यक्रम संयोजक एवं युवा स्रोत विकास तथा तालिम केन्द्रका निर्देशक निराजन खडकाले वडा नं ६ भित्र रहेका बालबालिकाको अवस्था, टोल कमिटीमा गठन गरिएका बाल क्लब, सञ्जाल तथा नगरस्तरीय सहभागिता सम्बन्धी विवरण प्रस्तुत गरे।

    वडाध्यक्ष एवं नगर प्रवक्ता दिवश पोख्रेलले उपमहानगरपालिकालाई सन् २०८३ मा ‘बालमैत्री नगर’ घोषणा गर्ने पूर्वतयारी स्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
    उनले वडामा रहेका प्रतिभाशाली बालबालिकाको सूचिकृत गरेर राष्ट्रव्यापी प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको बताए।

    हामी वडाका बालबालिकालाई शिक्षा मात्र होइन, हरेक क्षेत्रमा अब्बल बनाउन समर्पित रहेको र त्यसका लागि आगामी दिनमा पर्याप्त बजेट विनियोजन गरी यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने वडाध्यक्ष पोख्रेलले बताए ।

    कार्यक्रममा बालबालिका फोकल पर्सन नेत्र प्रसाद न्यौपाने, वडा बाल सञ्जाल अध्यक्ष आशिष लकान्द्रि, बाल अधिकारकर्मी संगीता पोख्रेल, भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश संयोजक भरत थापा,कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती नगर बाल सञ्जाल अध्यक्ष विभुती काफ्ले लगायतको सक्रिय उपस्थिति रहेको थियो।

4565