• जनकापुरमा मिथिला मध्यमा परिक्रमा सुरु भएको छ । १५ दिनसम्म भगवानको डोलासहित जनकपुरधामको हनुमान नगरमा हजारौं सहभागिता हुने गर्दछ ।

    मिथिलाको महाकुम्भको रुपमा परिचित रहेको मिथिला माध्यमिकी परिक्रमा आज देखि सुरु भएको छ । बिहीवार जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोला सहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौँको संख्यामा भक्तजनहरु जम्मा भएर मनाउने गरिन्छ ।

    मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुनेगर्दछ । मध्यमा र अन्तगृहमा लाखौको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कल्याणेश्वरबाट हुन्छ ।

    फागुन प्रतिपदाका दिन भक्तजनहरु कल्याणेश्वर पुग्छन् । एक रात पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोला सँगै राति विश्राम गर्ने परम्परा छ । हनुमान नगरबाट कल्यााणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ । यहाँबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ । विभिन्न स्थानमा रहेको मन्दिरको दर्शन पश्चात बाह्रौँ दिनमा बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति गरिन्छ ।

    १५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्छन । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ ।

4565