• पछिल्लो समय सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकै आक्रामक भएको छ । आफू अनुकुल हुँदा जे पनि सही भन्ने र अनुकुल नभएर पदीय मर्यादा नै बिर्सिएर गालीगलौजमा उत्रिने हाम्रो राजनीतिक परम्परा नै बनिसकेको छ । जसको ज्वलन्त उदाहरण बनेका सभामुख सापकोटा ।

    यतिबेला नेकपा एमाले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर निकै आक्रामक भएको छ । आफ्ना १४ सांसदलाई निष्कासन गरेको कारबाही सभामुखले सूचना टाँस नगरिँदिँदा आक्रामक बनेको एमालेका अध्यक्ष केपी ओली सार्वजनिक रुपमै गाली गलौजमा उत्रिएका छन् ।

    नेपालको संविधानले सभामुखको पद स्वतन्त्र रहने उल्लेख गरेको छ । जुन कुनै राजनितिक दलको कार्यकर्ता भन्दा माथि हुन्छ । तर सभामुख सापकोटाको भूमिका माथि भने अहिले प्रश्न उठिरहेको छ । उनले सबै दललाई समान व्यवहार गर्न सकेनन्, राजनितिक दलको कार्यकर्ताजस्तो भए । उनको व्यवहारले संसदको गरिमा समेत घटाएको टिप्पणी गर्नेहरुसमेत छन् ।

    तत्कालीन प्रधानमन्त्री ओलीको इच्छा विपरित सभामुख बनेका सापकोटा पद सम्हाले देखिनै ओलीको तारो बनेका थिए । प्रधानमन्त्री ओलीसँग उनको द्वन्द्व निकै बढेको थियो । एमसिसिको बिषय होस् वा संवैधानिक नियुक्तिका विषय, यसमा सभामुखले खेलेको भूमिकाप्रति ओलीले पदीय मर्यादासमेत ख्याल नगरी प्रहार गरिरहे । जसलाई कतिपय कानुनविद्हरु संसदिय व्यवस्था माथिकै अपमान भन्छन् ।

    सम्मानित पदमा बसेका व्यक्ति विवादमा आउनु राम्रो हुँदै होइन । निष्पक्ष भूमिका निभाएर सबैलाई मिलाउन सक्नुमा नै यसको गरिमा बढ्छ । तर, नेपालमा प्रतिष्ठित पदमा बसेका व्यक्तिहरु पटक–पटक विवाद आउने र आफू अनुकूल व्यवहार देखाउनुले जनमानसमा भने विश्वास गुम्दै गएको छ ।

4565