• भारतले कोरोना भाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतको औषधि नियामक निकायले तीन मात्रा दिनुपर्ने जाईकोभ डी नामको खोपलाई प्रयोगको अनुमति दिएको हो ।

    २८ हजार जना स्वयंसेवीमा गरिएको क्लिनिकल परीक्षणपछि खोपलाई स्वीकृति प्रदान गरिएको हो । सो खोप भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा समेत परीक्षण गरिएको थियो । जाईकोभ–डी भारतका लागि घोच्ने सुईबिनै दिन सकिने पहिलो खोप पनि हो । सुई आवश्यक नपर्ने र एकचोटि प्रयोग गरेपछि फ्यालिने इन्जेक्टर प्रयोग गरेर यो खोप दिइन्छ । त्यस्तो साधन प्रयोग गर्दा खोपमा भएको तरल द्रव्य छालाभित्र छिर्छ र उपयुक्त तन्तुसम्म पुग्दछ ।

    जाईकोभ डी खोप लगाएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त संक्रमण हुन नपाएको खोप उत्पादक कम्पनी क्याडिला हेल्थकेयरले जनाएको छ । सो कम्पनीले बार्षिक १ करोड २० लाख मात्रा खोप उत्पादन गर्ने लक्ष्य राखेको छ । यो भारतमै निर्मित दोस्रो खोप हो । भारतमा कोभिशिल्ल्ड, कोभ्याक्सिन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन । शुक्रबारसम्म भारतमा ५८ करोड मात्रा खोप दिइसकिएको छ ।

4565