• नेकपाका महासचिव नेत्रविक्रम चन्दले पार्टीका नेताहरुसँगको भेटलाई आज पनि निरन्तरता दिएका छन् । ओली सरकारसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव चन्दले केपी ओली सत्ताच्युत हुनासाथ अन्य कम्युनिस्ट नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका हुन् । यसै क्रममा महासचिव चन्दले आज पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरे ।

    जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न चन्द नेता धर्मेन्द्र बाँस्तोलाका साथ बिहानै टोखास्थित भट्टराई निवास पुगेका थिए । डा. भट्टराई र चन्दबीच लामो समयपछि अन्तरंग कुराकानी भएको हो । यसअघि बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास ललितपुरको खुमलटार पुगेर भेटेका चन्दले हिजो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए ।

    सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधि सभा पुनःस्थापना एवं ओली सरकार ढलेको, नयाँ सरकार बनेको तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमा माधव नेपाललाई ठाउँ नभएको घोषणा गरेको पेचिलो राजनीतिक परिस्थितिमा भइरहेको कम्युनिस्ट एवं पूर्वमाओवादी नेताहरूको चरणबद्ध भेटघाटलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

4565