• हाइटीका राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिकन र कोलम्बियन नागरिकहरुको समुह संलग्न रहेको त्यहाँको प्रहरीले बताएको छ । सो समुहमा २८ जना मध्ये २६ जना कोलम्बियाका नागरिक र दुई जना हाइटी मूलका अमेरिकी नागरिक रहेको हाइटीका प्रहरी प्रमुख लिओन चाल्र्सले बताए ।

    प्रहरीका अनुसार राष्ट्रपतिको हत्यामा संलग्न मध्ये तीन जना प्रहरीबाट मारिएका छन् भने १५ जना कोलम्बियाका र दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । अझै आठ जना फरार छन् । मंगलबार राति हतियारधारी समुहले हाइटीका राष्ट्रपति मोइसेको हत्या गरेका थिए । आक्रमणमा मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ । अहिलेसम्म यो आक्रमणको प्रमुख योजनाकार को हुन् र आक्रमणको उद्देश्य भने खुल्न सकेको छैन ।

    हाइटीको प्रहरीले केही आरोपीका साथै उनीहरुसँगको हतियार पासपोर्ट तथा अन्य प्रमाणहरु सार्वजनिक गरेको छ । कोलम्बियाको सरकारले आरोपीमध्ये कम्तीमा ६ जना आफ्नो मुलुकका अवकाश प्राप्त सैनिक भएको बताएको छ । कोलम्बियाले हाइटीलाई अनुसन्धान कार्यमा सघाउने बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले भने अहिलेसम्म आफ्ना कोही नागरिकहरु पक्राउ परेको पनि थाहा नभएको बताएको छ ।

4565