• चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अब कसैको अगाडी नझुक्ने बताएका छन । सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति सिले चीनले कुनै पनि विदेसी शक्तिलाई आफुमाथि आँखा तर्ने वा आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्न अनुमती नदिने बताए ।

    अब कुनै पनि विदेसी शक्तिलेले चीनलाई दबाउन नसक्ने उल्लेख गर्दै उनले चीनलाई आफनो नियन्त्रणमा लिने वा हस्तक्षेपको प्रयास नगर्न विदेसी शक्तिलाई चेतावनी समेत दिएका छन । करिब ७० हजार दर्शकको उपस्थितीमा राष्ट्रपति सिले चीनले कसैलाई नदबाएको, कुनै देशका नागरिकलाई नियन्त्रणमा लिने प्रयास नगरेको र आगामी दिनमा समेत नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चीनलाई कमजोर नठान्न चेतावनी समेत दिए ।

    राष्ट्रपति सिले साम्यवादले चीनलाई बचाउने र साम्यवादी चीनिया नागरिकले नै देशको विकाश गर्ने विश्वास व्यक्त गरे । सयौं वार्षिकोत्सवको अवसरमा कार्यक्रममा चीनिया जेट विमानहरुले फ्लाइपास्ट गरेका थिए भने राष्ट्रपति सिलाई सलामी दिइएको थियो । चीनले हालैका दिनहरुमा आफ्नो सत्तारुढ पार्टीको इतिहासका बारेमा विभिन्न प्रचार गर्दै आएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । त्यसयता गरेका विभिन्न गतिविधिहरुका बारेमा पछिल्लो हप्ता प्रचार प्रसार गरिएको छ । वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य शहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको जनाएको छ ।

4565