• १६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछ । समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्न लागेका हुन् । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ ।

    २ खेलमा ४ अंक जोडेको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्डलाई बराबरीको नतिजाले पनि अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनु पर्ने हुन्छ । पहिलो खेलमा क्रोएसियालाई १–० ले हराएको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुग्ने लक्ष्यमा रहेको छ ।

    २ खेलमा ४ अंक जोडेको चेल रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ । बराबरीको नतिजाले पनि चेक रिपब्लिक अर्को चरणमा पुग्नेछ । पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसिया र स्कटल्याण्ड पनि जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन् । यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरीमा रोकिएको थियो । स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित स्कटल्याण्ड दोस्रो खेलमा इंग्ल्यान्डसँग बराबरीमा रोकिएको थियो ।

4565