• सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु सहित प्रमुख दलका शीर्ष नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक–पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए । उनले पटक पटक प्रतिनिधिसभा विघटन हुँदा लोकतन्त्र धरापमा परेको भन्दै साझा चिन्ता व्यक्त गरेको बताए ।

    नेताहरुले प्रतिनिधिसभा विघटन गलत भनेर सभामुखलाई सुझाव दिएका छन् । पटक पटक प्रतिनिधिसभा विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास नेताहरुले विश्वास व्यक्त गरेका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका असन्तुष्ट नेता माधव नेपाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी थिए । प्रधानमन्त्री केपी ओलीलाई पनि बैठकमा सहभागी हुन आमन्त्रण गरेपनि उनी सहभागी भएनन् । सभामुख सापकोटाले यसअघि पूर्वसभामुख र कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

4565