• नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो पटक विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४३ रनलेको विसाल अन्तरले हराएर नेपाल विजेता बनेको हो ।नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्बाधिक ठूलो जित हो ।

    नेदरल्याण्ड्सको पारीमा ओपनर म्याक्स ओ डौडले २० तथा सेबेष्टियन ब्राटले बनाएको २६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । ब्राट अविजित रहेका थिए । कप्तान पिटर सीलरले १३ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेन ।नेपाली बलरहरुमा करण केसीले सर्बाधिक तीन विकेट लिए । कमल ऐरी र सन्दीप लामिछानेले सामान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए । नेदरल्याण्ड्सका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।

    त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार गरेको थियो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको यो अहिलेसम्मकै सर्बाधिक ठूलो योगफल हो । यसअघि दक्षिण एशियाली खेलकुद सागमा नेपालले भुटान बिरुद्ध तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो ।

    ओपनर आशिफ शेष मात्र आठ बलमा १६ रन बनाएर पेभेलियन फर्किदा नेपालले दुई ओभर दुई बलमा ३० रन जोडेको थियो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भएको थियो ।

    कुशल भुर्तेलको अद्र्धशतक
    ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा पाँच चौका र दुई छक्का लगाएर आफ्नो अद्र्धशतक पुरा गरे। ११ रनको ब्यक्तिगत् योगफलमा पहिलो जिवनदान पाएका कुशलले १३ औं ओभरको चौथो बलमा फिलिप बोस्सेभेनको बलमा छक्का लगाउँदै अद्र्धशतक पुरा गरेका थिए । उनले ५३ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्बाधिक ७७ रनको योगदान दिएका थिए । यो उनको टी ट्वान्टी अन्तर्राष्ट्रियको सर्बाधिक ब्यक्तिगत् योगफल समेत हो । प्रतियोगिताको पाँच खेलमा उनको यो चौथो अद्र्धशतक हो ।

    आशिफ सबेरै पेभेलियन फर्केपछि कुशल भुर्तेलसँग कप्तान ज्ञानेन्द मल्लले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर टोलिको योगफल ८७ रनसम्म पुर्याएकाथिए ।

    कुशल मल्लको पहिलो अद्र्धशतक
    ज्ञानेन्द्रले मात्र १९ बलमा तीन चौका र दुई छक्का लगाएर ३३ रन बनाएर पेभेलियन फर्किदा चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले विष्फोटक पारी खेल्दै टोलिलाई १८ औं ओभरको चौथो बलमा दुई सय रनको योगफलसम्म पुर्याए । नेपालले १८ ओभरमा तीन विकेटको क्षतिमा २०६ रन बनाउँदा कुशल मल्लले मात्र २२ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४८ रन बनाए । लगत्तै कुशल मल्लले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो पहिलो अद्र्धशतक पुरा गरे । उनले मात्र २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५० रन बनाएर अविजित रहे ।

    पारीको उत्कृष्ट अन्त्य
    नेपालले १२ औं ओभरदेखि १७ औं ओभरका बीच पाँच ओभरमा ८६ रन जोड्दा कुशल भुर्तेलको रुपमा एक मात्र विकेट गुमाउन पुग्यो । अन्तिम पाँच ओभरमा नेपालले एक विकेट गुमाएर ८१ रन जोड्यो ।

    कुशल मल्ल, कुशल भुर्तेलले अद्र्धशतक लगाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ४८ रन बनाएर अविजित रहँदै अद्र्धशतक लगाउनबाट चुके । उनले पारीको अन्तिम बलमा चौका लगाएर ४८ रन बनाउन सफल रहे ।यो जीतसंगै नेपालले ट्रफि उचाल्दै विजेता बन्न सफल बन्यो । नेपाली किक्रेट टिमलाई हाम्रो पनी हार्दिक बधाई ।

4565