• अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाएको छ । ११ दिनपछि अमेरिकी औषधि नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो ।

    रोक फुकुवा गरेपनि खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा रगत जम्न सक्ने चेतावनी भने राखिने भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को प्यानलले अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप दिन थाल्ने पक्षमा निर्णय गरेको थियो । सिडिसीको सल्लाहकार बोर्डमा रोक फुकुवा गर्ने पक्षमा १० र विपक्षमा ४ मत परेको थियो ।

    त्यसपछि सिडिसी र एफडिएले खोप पुनः लगाउन थाल्ने निर्णय गरेको हो । जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्ये १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि अमेरिकामा खोपमाथि रोक लगाइएको थियो । रगत जम्ने समस्या देखिएका सबै ५० वर्षमुनिका महिला रहेको र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको जनाइएको छ । यसै साता युरोपियन औषधि नियामक निकायले पनि जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप हो ।

4565